सावित्री बनिन् एशियाकै सबैभन्दा धनी महिला, कति छ सम्पत्ति ?



काठमाडौं । भारतकी सावित्री जिन्दल एसियाको सबैभन्दा धनी महिला बनेकी छिन् । ब्लूमबर्गको रिपोर्टअनुसार सावित्री ११.३ बिलियन डलर (आजको दिनमा नेपाली रुपैयाँ १४ खर्ब ३४ अर्ब ५० करोड ४४ लाख) सम्पत्तिसहित एसियाको सबैभन्दा धनी महिला बनेकी हुन् ।

दोस्रो नम्बरमा चीनका फ्यान होङवेई छिन् । उनीसँग पनि ११.३ बिलियन डलरको सम्पत्ति छ । सन् २०२१ मा एसियाकै धनी महिला चीनकी याङ हुइयान थिइन् । जो अहिले तेस्रो नम्बरमा पुगेकी छन् । उनको सम्पत्ति भारतीय रुपैयाँ ८७.११ हजार करोड (११ बिलियन डलर) छ ।

सावित्री ब्लूमबर्गको विश्वका अर्बपतिको सूचीमा १६४औं स्थानमा पुगेकी छिन् । गौतम अडानी एसियाका सबैभन्दा धनी व्यक्ति हुन् । उनीसँग भारतीय रुपैयाँ ९.३५ लाख करोड रुपैयाँको सम्पत्ति छ ।

सावित्री जिन्दल जिन्दल ग्रुपको अध्यक्ष हुन् । यो कम्पनी भारतको तेस्रो ठूलो स्टील उत्पादक हो । सो कम्पनीले सिमेन्ट, ऊर्जा र पूर्वाधार क्षेत्रमा काम गर्दै आएको छ ।

एक रिपोर्टका अनुसार सावित्री जिन्दल कहिल्यै कलेज गइनन् । यति हुँदाहुँदै पनि श्रीमानको आकस्मिक मृत्युपछि उनले सम्पूर्ण व्यवसायको जिम्मा लिइन् ।

जिन्दल परिवारका अधिकांश महिलाले घरको हेरचाह गर्ने उनी बताउँछिन् । जबकि पुरुषले बाहिरको काम हेर्छन् । जसका कारण सावित्रीलाई श्रीमानको व्यवसाय सम्हाल्न निकै मेहनत गर्नुपरेको थियो ।

सन् १९५० मा असमको तिनसुकियामा जन्म भएको सावित्री देवीको सन् १९७० मा जिन्दल ग्रुपका संस्थापक हरियाणाका ओमप्रकाश जिन्दलसँग विवाह गरेका थिए । जिन्दल समूह स्टील र अन्य धेरै क्षेत्रमा सक्रिय छ । ओपी जिन्दल र सावित्रीका नौ सन्तान छन् । त्यसमध्ये ४ जना छोरा छन् ।

जेठा छोरा पृथ्वीराज जिन्दल कम्पनीका अध्यक्ष हुन् । दोस्रो छोरा सज्जन जिन्दलले जेडब्लुएस कम्पनीको कमाण्ड सम्हालेका छन् । तेस्रो छोरा रतन कम्पनीको सञ्चालक पदमा छन् । जबकी, परिवारका कान्छो छोरा नवीन जिन्दल ‘जिन्दल स्टील’का अध्यक्ष हुन् । यससँगै उनी सांसद् पनि भइसकेका छन् ।


क्लिकमान्डु