नेपाल सम्पत्ति शुद्धिकरणको कालोसूचीमा पर्ने सम्भावना: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपाल सम्पत्ति शुद्धिकरणको कालोसूचीमा पर्न सक्ने जोखिम बढेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै थापाले नेपाल यसअघि कालोसूचीमा पर्नबाट जोगिएको तर यसपटक अवस्था गम्भीर भएको भन्दै वर्तमान अवस्थाबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने माग गरेका छन् ।

‘फाइनान्सियल एक्सन टाक्स फोर्स अन्तर्गतको एशिया प्यासिफिक ग्रुप अफ मनी लन्डिरिङले आगामी अक्टोबर र नोभेम्बरमा मूल्यांकन गर्दैछ,’ उनले भने, ‘विगतमा नेपाल कालोसूचीमा पर्नबाट जोगिएको थियो तर यसपटक कालोसूचीमा पर्ने जोखिम बढेको छ ।’

उनले सम्पत्ति शुद्धिकरण सम्बन्धी ४० वटा सूचीमा नेपालको अवस्थाबारे सरकारले तत्काल संसदमा जानकारी गराउनु पर्ने बताए ।

‘सम्पत्ति शुद्धिकरण सम्बन्धी मूल्यांकन हाम्रो कानूनी व्यवस्था, यसको कार्यान्वयन र यसको प्रभावकारिताका आधारमा गरिन्छ,’ उनले भने, ‘सम्पत्ति शुद्धिकरण सम्बन्धी पर्याप्त कानून नबनिसकेको, बनेको कानूनको पनि प्रभावकारी रुपमा कार्यान्वयन नभएको, व्यापकर कर छली, बढ्दो भ्रष्टाचार र अपराधिकरणको कारणले गर्दा हाम्रो हाम्रो समष्टिगत मूल्यांकन अति जोखिमपूर्ण अवस्थामा भएको विज्ञहरुले बताइरहेका छन् ।’

उनले नेपाल कालोसूचीमा पर्यो भने विप्रेषण र आयातमा निर्भर नेपालको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने र एलसी खोल्न नपाइने बताए ।

‘विज्ञहरुले आशंका गरे जस्तो कालोसूचीमा पर्ने सम्भावना बन्दै गएको हो भने त्यसमा पर्न नदिन र त्यसबाट जोगाउन सरकारले के गरिरहेको छ अबिलम्ब संसदलाई जानकारी गराउन माग गर्दछु,’ उनले भने ।


क्लिकमान्डु