बेरुजु फर्स्यौटमा हालसम्म अपनाइएका विधि र प्रक्रियाबारे समीक्षा आवश्यक छः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बेरुजु फर्स्यौटलाई सरकारले उच्च प्राथमिकतामा राखेको दाबी गरेका छन् ।

महालेखा परीक्षकको कार्यालयले ६४औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले भने, ‘यस वर्षको नीति तथा कार्यक्रममा समेत बेरुजु फर्स्यौटलाई प्राथमिकतामा राखिएको छ, सार्वजनिक आर्थिक कारोबार सञ्चालनमा पारदर्शीता र स्वच्छता कायम गर्न सरकार प्रतिबद्ध छ ।’

उनले लेखापरीक्षकहरुबाट प्राप्त सुझाव कार्यान्वयन गर्न तथा बेरुजु फस्र्यौट गर्न सरकारले निरन्तर प्रयत्न गरिरहेको बताए । बेरुजु फर्स्यौटका लागि अहिलेसम्म अपनाएका विधि र प्रकृयाका बारेमा समीक्षा गर्नुपर्ने आवश्यकता देखेको बताए ।


‘बेरुजु किन बढदै गएको छ, कहाँ हाम्रो कमजोरी भयो भन्ने कुराको अध्ययन, अनुसन्धान गरेर निराकरण गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहको लेखापरीक्षण गर्नुपर्ने जिम्मेवारी पूरा गरी वित्तीय व्यवस्थापन चुस्त, दुरुस्त बनाउन पहिले झैं यसवर्ष पनि महालेखा परीक्षकबाट सुझाव प्राप्त हुने अर्थमन्त्री शर्माले विश्वास व्यक्त गरे ।

‘सार्वजनिक खर्च तथा स्रोतको दुरुपयोग, राजस्वतर्फ भएका चुहावट, हिनामिना, न्यून बिजकीकरण, अनौपचारिक क्षेत्रबाट अर्थतन्त्रमा परेको नकारात्मक असर, सार्वजनिक तथा संगठित संस्था संचालनका बिषयहरुमा भने थप ध्यान दिनुपर्ने देखेको छु,’ उनले भने ।

अर्थमन्त्री शर्माले बर्तमान अर्थतन्त्रका बारेमा महालेखा परिक्षकको कार्यालयबाट अध्ययन र विश्लेषण भई सुझाव पाउने अपेक्षा राखेको पनि बताए ।

‘एकातिर अर्थतन्त्रको आकार दिन प्रतिदिन फराकिलो बन्दै गएको छ भने अर्कोतर्फ आर्थिक परिसूचकहरुमा उचार चढाव आइरहेको छ । यसो हुँदा अर्थतन्त्रका समग्र पक्षमा गहन अध्ययन, विश्लेषण र मूल्यांकन गर्नुपर्ने आवश्यकता देखेको छु,’ उनले भने, ‘यसमा महालेखा परीक्षकको कार्यालयका तर्फबाट सशक्त अध्ययन, विश्लेषण भई सुधारका लागि सुझाव पेश हुने अपेक्षा गरेको छु ।’

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकले गर्ने लेखापरीक्षणले मुलुकको सार्वजनिक प्रशाशनको वित्तीय अनुशाशन र सदाचारको बारेमा प्रष्ट पार्ने गरेको बताइन् ।

उनले आधुनिक प्रविधिमार्फत लेखापरीक्षण हुन थालेकोमा खुसी व्यक्त गरिन् ।

महालेखा परीक्षकको प्रतितवेदनले हरेक वर्ष बेरुजु बढ्दै गएको तथ्ये औंल्याउने भएकाले सुधारको खाँचो रहेको उनको भनाइ छ ।


क्लिकमान्डु