दुई वर्षभित्र सबै नेपालीलाई गुणस्तरीय विद्युत सेवा उपलब्ध हुन्छ : ऊर्जामन्त्री भुसाल



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्ने बताएकी छिन् ।

सरकारको तर्फबाट सङ्घीय संसद्मा पेश भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा मन्त्रालयसँग सम्बन्धित विषयमा राष्ट्रियसभा सदस्यहरूको प्रश्नहरूको जवाफ दिँदै उनले स्पष्ट कार्ययोजना बनाएर पूर्ण विद्युतीकरणका योजना बनाइ कार्यान्वयन गर्न लागिएको बताइन् ।

आफूले मन्त्रालय संहालेपछि मासिक २० युनीटसम्म विद्युत खपत गर्ने बिपन्न नागरिकलाई निःशुल्क विद्युत सेवा दिने र मिटर जडान गर्ने व्यवस्था मिलाएको जानरकारी गराइन् । देशभरका झन्डै ५२ लाख ग्राहकमध्ये करिब २६ लाख ग्राहकले यो सुविधा पाएको उनको भनाइ छ ।

मन्त्री भुसालले सिँचाइमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिने गरी प्रति युनिट २ रुपैयाँसम्म महशुल कायम गरिएको र विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्न ग्राहर्स्थ वर्गको विद्युत महशुल कम गरिएको जानकारी दिइन् । उनले खानेपानी र सिँचाइमा डिमाण्ड शुल्क हटाइएको जानकारी गराइन् ।

‘खानेपानीतर्फ इनर्जी शुल्क करिब ५० प्रतिशतले घटाइएको छ’ उनले भनिन्, ‘अधिकांश वस्तु तथा सेवाको मूल्य वृद्धि भई रहेको अवस्थामा विद्युत क्षेत्रमा विगत २ वर्षमा २ पटक गरी २० प्रतिशतले विद्युत महशुल घटाइएको निवेदन गर्दछु । विद्युत महशुलमा दिइएको छुट गत मङ्सिर १ गतेदेखि नै कार्यान्वयनमा आइसकेको छ ।’

विद्युत खपत बढाउन ग्राहकले क्षमता बृद्धिको माग गरेमा तत्काल बृद्धि गर्ने व्यवस्था गरीएको उल्लेख गर्दै उनले उत्पादित विद्युत स्वदेशमै खपत हुन नसकेमा निर्यात गर्ने नीति लिइएको जानकारी गराइन् । त्यस अनुरूप वर्षाको समयमा बढी हुने ३६४ मेगावाट विद्युत छिमेकी देश भारतमा निर्यात भइरहेको उनको भनाइ छ ।

सरकारले विद्युत खपत कार्ययोजना बनाई कार्यान्वयन गरेकै कारण यस वर्ष आन्तरिक विद्युतको खपत करिब २० प्रतिशतले बढेको जानकारी दिँदै मन्त्री भुसालले भनिन्, ‘हाल प्रतिव्यक्ति वार्षिक विद्युत खपत ३ सय ३० युनिट रहेकोमा आगामी वर्ष उल्लेख्य मात्रामा बृद्धि गरिने छ ।’

उनका अनुसार आगामी आर्थिक वर्षदेखि हरेक वर्ष करिव ७ सयदेखि १ हजार मेगावाट विद्युत प्रणालीमा थपिँदै जानेछ । आउँदो दुई वर्षपछिका सुख्खायाममा समेत नेपालको विद्युतले नै आन्तरिक माग धान्ने तर वर्षा याममा भने उत्पादनको करिव ५० प्रतिशत विद्युत बढी हुनेछ ।


क्लिकमान्डु