जुत्ताचप्पल निर्यातमा नगद अनुदान दिने सरकारको नीतिले उद्योगी उत्साहित, गैरकानूनी आयात नियन्त्रण हुनुपर्ने माग



सरकारले जुत्ताचप्पल निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत नगद अनुदान दिने गरि लिएको नीति अवैध निर्यात नियन्त्रण हुन सक्दा मात्रै उपलब्धीपूर्ण हुने उद्योगीहरु बताउँछन् ।

काठमाडौं । विराटनगरमा रहेको म्याजिक फुटवेयर कम्पनीले ५ करोड रुपैयाँ खर्च गरेर ल्याएको जुत्ताको सोल बनाउने मेसिन सञ्चालनमा ल्याएको छैन् । चीनबाट न्यूनबिजकीकरण (भन्सार छलि गर्न बास्तबिक खरिद मुल्य घटाएर) जुत्ता बनाउने सोल आयात भएपछि म्याजिक फुटवेयर कम्पनीले नयाँ मेसिन सञ्चालन गर्न नसकेको हो ।

‘चीनबाट खरिद मुल्य ८७ रुपैयाँ देखाएर सोल आयात हुन्छ । जबकी, सोलको बास्तबिक खरिद मुल्य २०० रुपैयाँ भन्दा बढी हुन्छ । भन्सार छलेर आएका सोलसँग प्रतिस्पर्धा गर्न नसकिने भएपछि नयाँ मेसिन सञ्चालनमा ल्याएका थिएनौं,’ म्याजिक फुटवेयरका सञ्चालक राजेश बगरियाले क्लिकमाण्डूसँग भने, ‘यो वर्षको बजेटले निर्यातमा नगद अनुदान दिने र बजार अनुगमन पनि कडाईका साथ गर्ने भनेको छ । यदि सरकारले बजेटमा घोषणा गरे अनुसार बजार अनुगमन गर्न सक्यो भने दुई वर्षदेखि थन्किएको मेसिन सञ्चालन हुन्छ ।’

हाल म्याजिक फुटवेयरसँग दैनिक ६० हजार जोर हवाई चप्पल, स्याण्डल, स्पोर्टस वेयर बनाउने क्षमता छ ।

नेपाली उद्योगले देशभित्र जुत्ताचप्पलको माग पुरा गरेर निर्यात समेत गर्न सक्ने म्याजिक फुटवेयरका सञ्चालक बगरियाको दाबी छ ।

‘भन्सार छलेर र कम भन्सार तिरेर आउने जुत्ता चप्पलसँग नेपाली उद्योगले प्रतिस्पर्धा गर्नु परेको छ,’ बगरिया भन्छन्, ‘सरकारले पनि राजस्व गुमाइरहेको छ । स्वदेशी उद्योग पनि पूर्णक्षमतामा सञ्चालन हुन सकेका छैनन् । त्यसैले सरकारले कम मुल्यमा हुने जुत्ता चप्पलको आयात रोक्ने गरि काम गर्नु पर्छ ।’

सरकारले आगाी आर्थिक वर्षको बजेटमार्फत् जुत्ताचप्पल निर्यात गर्ने उद्योगलाई १० प्रतिशत नगद अनुदान दिने नीति लिएको छ । मिलानो ब्राण्डमा जुत्ता चप्पल उत्पादन गरिरहेको एक्सन पोलिमरका सञ्चालक गौरब अग्रवाल सरकारको नीतिले नेपाली उद्योगहरु आप्mनो पूर्णक्षमतामा सञ्चालन हुन सक्ने बताउँछन् ।

‘भन्सार छलि गर्न खरिद मुल्य घटाउने बिकति रोक्नुको साथै भन्सार नतिरी ल्याएका समान बजारमा नबिक्ने अवस्था निर्माण गर्न सकियो भने सरकारको नीतिबाट हजारौँ रोजगारी सिर्जना हुन्छ,’ अग्रवाल भन्छन्, ‘भन्सार छलेर आएका सामनसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली उद्योगहरु आप्mनो पूर्णक्षमतामा सञ्चालन हुन सकेका छैनन् ।’

खरिद मुल्य ५०० परेको जुत्ताको बिल २०० रुपैयाँको मात्रै बनाउँदा ३०० रुपैयाँमा ४० प्रतिशत भन्सार र १३ प्रतिशत मुल्य अभिबृद्धि कर तिर्नु पर्दैन् । जुत्ता आयात गर्ने व्यक्तिले ५०० रुपैयाँको नै बिल बनाएको भए २०० रुपैयाँ भन्सार महशुल र ९१ रुपैयाँ मुल्य अभिबृद्धि कर गरी २९१ रुपैयाँ राजस्व तिर्नु पर्ने थियो । तर, खरिद मुल्य २०० मात्रै बनाउँदा ८० रुपैयाँ भन्सार महशुल र ३६.४ रुपैयाँ मुल्य अभिबृद्धि कर गरी ११६.४ रुपैयाँ राजस्व तिर्नु पर्छ । खरिद मुल्य ३०० रुपैयाँले घटाउँदा १७४.६ रुपैयाँ कम राजस्व तिर्नु पर्छ ।

‘होलसेलमा एक जोर जुत्ताको ४०/६० रुपैयाँ मात्रै कम बढी हुँदा समेत बिक्रीमा असर गर्छ,’ गोल्डस्टार जुत्ता उत्पादक किरण सुजका अध्यक्ष अमिर राणा भन्छन् , ‘भन्सार विन्दुमा मात्रै १७५ रुपैयाँ छलि हुँदा स्वदेशी उद्योगले आयात हुने जुत्ता चप्पलसँग प्रतिस्पर्धा गर्न सकेको छैनन् ।’

स्वदेशी उद्योगबाट उत्पादित जुत्तामा उपभोक्ताले तिर्ने अन्तिम मुल्यमा समेत सरकारलाई १३ प्रतिशत मुल्य अभिबृद्धि कर तिर्नु पर्ने तर आयात गरेका जुत्ता बिक्री गर्दा कम मुल्यमा मात्रै मुल्य अभिबृद्धि कर तिर्नु पर्ने हुँदा खुद्रा व्यवसायीले समेत स्वदेशी कम्पनीको जुत्ताभन्दा चाइनिज जुत्ता बिक्री गर्न खोज्ने उद्योगीको आरोप छ ।

‘भन्सार जाँचपास हुँदा जुत्ताको खरिद मुल्य ३०० रुपैयाँ स्वघोषणा गरेपनि उपभोक्ताले जुत्ता ६/७ सय रुपैयाँमा पाएका छन् त ?’ बगरियाको भन्छन्, ‘सरकारलाई कर छलि गर्न मात्रै जुत्ताको मुल्य घटाइएको छ । उपभोक्ताले कुनै लाभ पाएका छैनन् ।’

भन्सार बिन्दुमा घोषणा गरिने मुल्य कर छलि गर्नका लागि मात्रै भएकाले जुत्ता चप्पल आयतकर्ताले सस्तो मुल्यमा जुत्ता बिक्री गर्न नसकेको बगरिया अग्रवाल बताउँछन् ।

स्वदेशी उद्योगको क्षमता बढ्छ

नेपालमा जुत्ता चप्पल बनाउने ठूला उद्योगीका अनुसार हाल नेपालका उद्योग ३० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन् । जस्तो, भारतमा जुत्ता चप्पल निर्यात गर्दा गोल्ड स्टारले दैनिक १ लाख जोर जुत्ता चप्पल उत्पदान गर्दथ्यो । तर, पछिल्लो समय गोल्डस्टारको दैनिक उत्पादन ३० हजार जोरमा सिमित भएको कम्पनीकी प्रबन्ध निर्देशक विदुषी राणा बताउँछन् ।

यस्तै एक्सन पोलिमरको ब्राण्ड मिलानाको दैनिक उत्पादन क्षमता दैनिक ३० हजार जोर भएपनि हाल कम्पनीले १० देखि १२ हजार जोर उत्पादन गरिरहेको कम्पनीका सञ्चालक अग्रवाल बताउँछन् ।

म्याजिकले नयाँ मेसिन समेत सञ्चालन गर्दा दैनिक ८० हजार जोर जुत्ता चप्पल उत्पादन गर्न सक्ने बगरियाको भनाइ छ । तर, पछिल्लो समय औषतमा दैनिक २० देखि ३० जार जोर जुत्ताचप्पल उत्पादन भइरहेको कम्पनीले जनाएको छ । नेपालमा डल्फिन कम्पनीले दैनिक ५० हजार जोर हवाई चप्पला बनाउन सक्छ । तर, हाल कम्पनी ३० प्रतिशत क्षमतामा सञ्चालन गर्नु परेको उद्योगी बताउँछन् ।

जुत्ताको सोल आफैं बनाउँदै आएको सांग्रिला फुटवेयरको दैनिक जुत्ता र हवाई चप्पल बनाउने क्षमता २० हजार जोर छ । तर, उद्योगले आफ्नो क्षमता अनुसार उत्पदान गर्न सकेको छैन ।

जुत्ता चप्पल बनाउने हाइलाइफको दैनिक क्षमता २० हजार जोर, सेन्चुरीको १० हजार जोर, क्यापिटलको १० हजार जोर, एच टाइगरको ३० हजार जोर मारिनको ३० हजार जोर उत्पादन क्षमता छ । तर, हाल स्वदेशी उद्योगले दैनिक १ लाख ५० जोरभन्दा बढी जुत्ता चप्पल उत्पादन गर्न सकेका छैनन् ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको जुत्ता चप्पल आयात भएको छ । नेपालले १० महिनामा २ करोड २१ लाख जोर जुत्ता चप्पल आयात गरेको हो । यसमा स्पोर्टस्वेयर, माउन्टेन सू, ट्रेकिङ सु लगायत सबै प्रकारका जुत्ताचप्पल रहेका छन् ।

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले ५ वर्षअघि गरेको अध्ययनमा औषतमा वर्ष दिनमा एक व्यक्तिलाई ३.२१ जोर जुत्ता चप्पल आवश्यक पर्ने पाइएको थियो । त्यसका आधारमा नेपालमा वार्षिक ९ करोड जोर जुत्ता आवश्यक हुन्छ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका उद्योगले वार्षिक ५ करोड जोर जुत्ता चप्पल गर्ने गरेका छन् ।

नेपाल २ करोड जोर जुत्ता चप्पल आयात भइरहेको छ । बाँकी रहेको २ करोड जोर जुत्ता चप्पल अवैध माध्यमबाट भित्रिने र खपत भइरहेको सरकारी अधिकारीसमेत स्वीकार गर्छन् ।

सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्न भन्दै ३० प्रतिशत रहेको भन्सार महसुल ४० प्रतिशत बनाउनुभन्दा पनि सस्तो मुल्यको जुत्ता चप्पल आयात हुनबाट रोक्नु पर्ने उद्योगीको माग छ ।

‘नेपालमा स्वदेशको माग पुरा गरेर निर्यात गर्न सक्ने गरि उद्योग स्थापना भएका छन्,’ अग्रवाल भन्छन्, ‘तर, सबैभन्दा पहिला स्वदेशी उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन हुने वातावरण बनाउनु पर्याे । त्यसका लागि अवैध माध्यमबाट हुने आयात र न्यूनबिजकीकरणको आयार रोक्नै पर्छ ।’

जुत्ता एसेम्बल गर्नु र जुत्ता बनाउनु एउटै होइन

नेपालमा जुत्ता चप्पल बनाउँदा ५ प्रकारका सोल प्रयोग हुन्छन् । ती हुन्, पीभीसी सोल, पियू सोल, पीपीर सोल, रबर सोल र इभा सोल ।

यी सबै सोल बनाउन फरक–फरक कच्चा पदार्थ प्रयोग हुन्छ । जस्तो, पोलियुरिथेन (पियू) कच्चा पदार्थ प्रयोग हुने पियू सोल हलुका हुने हुँदा पार्टी वेयर जुत्तामा प्रयोग हुन्छ । पोलिभिनाइल क्लोराइड (पीभीसी) सोल दैनिक प्रयोग हुने जुत्ता र स्पोर्टस वेयरमा प्रयोग हुन्छ ।

यस्तै रबर सोलको प्रयोग स्पोर्टस वेयर र चप्पलमा हुने गर्छ । पोलिप्रोपाइलिन र्याण्र्डम (पीपीआर) सोल पातलो र टिकाउ हुन्छ । जसको प्रयोग महँगा पार्टी वेयर जुत्तामा हुन्छ । एथिलिन विनाइल एसिटेट (इभी) सोलको प्रयोग स्पोर्ट जुत्तामा हुन्छ ।

रबर सोल बनाउने बाहेकका कच्चा पदार्थ पेट्रोलियम पदार्थबाट बन्ने गर्छन् । अन्तर्राष्ट्रिय बजारमा यी कच्चा पदार्थको मूल्य प्रतिकेजी १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म पर्छ ।

नेपालमा गोल्डस्टारले पीभीसी प्रयोग गर्दै सोल बनाउँछ । यस्तै मिलानो ब्राण्ड उत्पादन गर्ने एक्सन पोलिमरले पियू प्रयोग गर्दै सोल बनाउँछ । म्याजिकले पनि पियु र रबर सोल बनाउँदै आएको छ ।

चालु आर्थिक वर्षको १० महिनामा ३९ लाख ९५ हजार ४२६ जोर जुत्ताका सोल आयात भएका छन् । भन्सार जाँचपास गर्दा एउटा सोलको औसत मूल्य ८७ रुपैयाँ कायम गरिएको छ ।

औसतमा एक जोर सोलको तौल २५० ग्राम हुन्छ । नेपालमा सस्तो कच्चा पदार्थ प्रयोग गर्दै एक जोर सोल बनाउँदा पनि १५० देखि २०० रुपैयाँ लागत पर्छ । तर, चीनबाट तयारी सोल नै औसतमा ८७ रुपैयाँमा आयात भइरहेको छ । किरण सुजका अध्यक्ष राणा भन्सार छली गर्न सोलको खरिद मूल्य घटाउने गरिएको बताउँछन् ।

सस्तो मुल्यमा सोल ल्याएले स्वदेशी जुत्ता चप्पल भन्दै विक्री गर्ने प्रबृतीले जुत्ता चप्पल उत्पादन गर्ने उद्योग मारमा परेका छन् । जस्तो क्यालिबर ब्राण्डमा जुत्ता बनाउने उद्योगले चीनबाट सोल र माथिको अपर ल्याउँदै जुत्ता बनाउने गर्छ । यस्तै विगतमा चीनबाट सोल ल्याउँदै आएको ब्ल्याक हर्सले भने नेपाली ब्राण्ड मिलानोले बनाउने सोल प्रयोग गर्छ ।

‘जुत्ता एसेम्बल गर्नेले आफूले मनलागेको गर्न पाउँछन् । उहाँहरुलाई जसरी बढी लाभ हुन्छ त्यहीँ गर्ने हो,’ म्याजिक फुटवेयरका सञ्चालक बगरिया भन्छन्, ‘हाम्रो माग सरकारले खरिद मुल्य घटाएन कुनै पनि सामान आयात नहोस् भन्ने मात्रै हो ।’

सरकारले स्वदेशी उद्योगको बजार बनाउने गरि नीति लिएकोबाट नेपाली फुटवेयर व्यवसायी आशावादी रहेको अग्रवाल बताउँछन् ।

‘सरकारले स्वदेशी उद्योग पूर्णक्षमतामा सञ्चालन् होस् भनेर नगद अनुदान दिने भनेको छ, जुत्ता चप्पलको कच्चा पदार्थ हामीसँग नभएपनि हामीसँग सस्तो श्रम छ,’ अग्रवाल भन्छन्, ‘जसरी बंगलादेशले गार्मेण्ट बनाउन कच्चा पदार्थ आयात गरेर संसारभर लत्ता कपडा बिक्री गरिरहेको छ, हामीले कम्तिमा दक्षिण एशियामा जुत्ता चप्पल बिक्री गर्न सक्छौँ ।’

जुत्ताचप्पल उद्योगले ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने हुँदा सरकारले संरक्षण गर्ने नीति लिए सरकारी राजस्व पनि बढ्ने र स्वदेशमा रोजगारीका अवसर पनि सिर्जना हुने बगरिया बताउँछन् ।


शरद ओझा