आन्तरिक राजस्व विभागले उठायो लक्ष्यभन्दा ५६ अर्ब कम राजस्व



काठमाडौं । आन्तरिक राजस्व विभागले जेठ महिनासम्ममा लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन् । विभागले चालु आर्थिक वर्षको साउनदेखि नै लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन् ।

जेठ मसान्तसम्म ४ खर्ब ६६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तय गरेको बिभागले ४ खर्ब १० अर्ब रुपैयाँ संकलन गरेको छ । चालु आर्थिक वर्षमा लक्ष्यको ८ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको विभागले आगामी आर्थिक वर्षमा भने यो वर्षको लक्ष्य भन्दा १ प्रतिशत बढी राजस्व संकलन गर्ने योजना बनाएको छ ।

विभागले स्वास्थ्य सेवा कर र शिक्षा कर बाहेकामा कुनै पनि कर लक्ष्य अनुसार संकलन गर्न सकेको छैन् । विभागले जेठ मसान्तसम्म ३ अर्ब २५ करोड रुपैयाँ स्वास्थ्य सेवा कर संकलन गर्ने लक्ष्य तय गरेकोमा ५ अर्ब ८१ करोड रुपैयाँ संकलन गरेको छ ।

यस्तै, विभागले जेठ मसान्तसम्ममा ९५ करोड रुपैयाँ शिक्षा कर संकलन गर्ने लक्ष्य राखेकोमा १ अर्ब ४ करोड रुपैयाँ संकलन भएको छ । आयकर, घरबाहल कर, ब्याज कर, आन्तरिक तर्फको मूल्य अभिबृद्धि कर र अन्तशुल्क लक्ष्य अनुसार संकलन नहुँदा समग्र राजस्व लक्ष्य प्रभावित भएको हो ।

आन्तरिक तर्फको मूल्य अभिबृद्धि कर लक्ष्य भन्दा २१ अर्ब रुपैयाँ कम र आयकर लक्ष्य भन्दा २० अर्ब कम संकलन हुँदा समग्र राजस्व लक्ष्य प्रभावित भएको हो । चालु आर्थिक वर्षमा जेठ मसान्तसम्म विभागले २ खर्ब २ अर्ब रुपैयाँ आयकर संकलन गर्ने लक्ष्य राखेकोमा १ खर्ब ८२ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ ।

यस्तै विभागले आन्तरिक तर्फको मूल्य अभिबृद्धि कर १ खर्ब २१ अर्ब संकलन गर्ने लक्ष्य तय गरेकोमा १ खर्ब रुपैयाँ मात्रै संकलन भएको छ । सरकारले प्रभावकारी रुपमा बजार अनुगमन गर्न नसक्दा लक्ष्य भन्दा निकै कम आयकर र मुअकर संकलन भएको विभागका एक अधिकारी बताउँछन् ।

‘बजार अनुगमन बढ्छ, कोरोना महामारी सुधार हुँदा व्यापार व्यवसाय बृद्धि हुन्छ भन्ने अपेक्षामा गत वर्ष भन्दा २० प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो,’ विभागका एक सहसचिव भन्छन्, ‘तर, बजार अनुगमन पनि बढ्न सकेन् । व्यवसायीक संस्थाले नाफा नबढेको विवरण पेश गरे । जसले गर्दा लक्ष्य अनुसार राजस्व संकलन नभएको हो ।’

यस्तै विभागले आन्तरिक तर्फ १ खर्ब १ अर्ब रुपैयाँ अन्तशुल्क संकलन गर्ने लक्ष्य राखेको थियो । तर, जेठ मसान्तसम्म ९४ अर्ब ८० करोड रुपैयाँ मात्रै अन्तशुल्क संकलन भएको छ । जेठमसान्त सम्ममा ३ अर्ब ३३ करोड रुपैयाँ घरवाहल कर संकलन गर्ने लक्ष्य राखेकोमा २ अर्ब ३३ करोड रुपैयाँ मात्रै संकलन हुन सकेको छ । ब्याज कर ३३ अर्ब ३१ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको सरकारले २३ अर्ब ३७ करोड रुपैयाँ मात्रै संकलन भएको छ ।


क्लिकमान्डु