नेपालले विद्युत् निर्यात गर्दै गर्दा कर्णाली र सुदूरपश्चिमका १७ लाख ३७ हजार जनसंख्या अँध्यारोमा



कठमाडौं । गत हप्ता बुधबारदेखि नेपाल विद्युत् प्राधिकरण विद्युत् उत्पादन बढी भएको खपत नभएको भन्दै धेरै भएको विजुली भारतलाई बिक्री गर्न शुरु गरेको छ ।

उक्त दिन प्राधिकरणले इण्डियन इनर्जी एक्सचेञ्ज (आइएक्स)लाई ३७.७ मेगावाट विद्युत् औषत प्रतियुनिट ७.२ भारतीय रुपैयाँमा बिक्री गरेर ८० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सरकारले मुलुकमा विद्युत् धेरै भएर भारतमा बिक्री गरिरहँदा आफ्नै देशका जनता भने अध्यारोमा बस्नु परेको छ ।

देशका सुगम क्षेत्रमा ९० प्रतिशतभन्दा धेरैले विद्युत् खपत गर्न पाइरहेको भए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका लाखौं जनता भने अझै पनि मट्टिटेलको टुकीमा रात बिताउन बाध्य छन् ।

सरकारी तथ्यांकअनुसार यी दुई प्रदेशका मात्रै १७ लाख ३७ हजारभन्दा धेरै व्यक्तिले विद्युत् पहुँचबाट बञ्चित हुनुपरेको छ ।

कर्णाली प्रदेशका आधाभन्दा धेरै जनसंख्यामा विद्युतको पहुँच पुग्न सकेको छैन । त्यस्तै, सुदूरपश्चिम प्रदेशका पनि २९ प्रतिशत जनसंख्यामा विद्युतको लाइन पुगेको छैन ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षेण २०७८/७९ मा उल्लेख भएको विवरणअनुसार कर्णाली प्रदेशका ४३.८७ प्रतिशत जनतामा मात्र विद्युत् पुगेको छ । यस प्रदेशमा ५६.१३ प्रतिशत जनता अध्यारोमा बसिरहेका छन् ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशका ७१.०७ प्रतिशत जनसंख्यामा विद्युत् उपलब्धता छ । यस प्रदेशमा २९ प्रतिशतले विद्युत् उपभोग गर्न पाएका छैनन ।

तथ्यांक विभागको तथ्यांकअनुसार कर्णाली प्रदेशको कुल जनसंख्या १६ लाख ९४ हजार ८ सय ८९ रहेको छ । यसको ५६.१३ प्रतिशत जनसंख्या भनेको ९ लाख ५१ हजार ३ सय ४१ जना हुन आउँछ । अर्थात, यस प्रदेशका साढे ९ लाख जनताले विद्युत् पाएका छैनन् ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको कुल जनसंख्या २७ लाख ११ हजार २ सय ७० छ । यसमध्ये २९ प्रतिशत अर्थात ७ लाख ८६ हजार २६८ जना विद्युत विहीन अवस्थामा छन् ।

२०७८ फागुनसम्म कर्णाली र सुदूरपश्चिम प्रदेश वाहेक अन्य सबै प्रदेशका ९० प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युतको पुहँच पुगेको छ ।

त्यस्तै, अन्य प्रदेशहरुमध्ये लुम्बिनी प्रदेशमा ९४.९१ प्रतिशत, गण्डकी प्रदेशमा ९५.६८ प्रतिशत, बागमती पदेशमा ९५.९१ प्रतिशत, प्रदेश १ मा ९६.९५ प्रतिशत र मधेश प्रदेशमा ९९.६६ प्रतिशत जनसंख्यामा विद्युत् पुगेको छ ।

मुलुकभरका विभिन्न ठाउँमा रहेको वैकल्पिक ऊर्जासहित समग्रमा ९४ प्रतिशत जनसंख्यामा विद्युत् पुगेको छ ।

पछिल्लो जनगणना २०७८ अनुसार मुलुकको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार रहेको छ । यसमध्ये ६ प्रतिशत अर्थात् १७ लाख ५१ हजार जनसंख्यामा अझै पनि विद्युत् पुगेको छैन ।

प्रदेशगत रुपमा २०७८ फागुनसम्म बाग्मती प्रदेशमा सबैभन्दा बढी १ हजार १६ मेगावाट क्षमताका आयोजनाहरु र कर्णाली प्रदेशमा सबैभन्दा कम ११ मेगावाट क्षमताका आयोजना सञ्चालनमा छन् ।

२०७८ फागुनसम्म २६ जिल्लामा विद्युतिकरण भएको छ । २०७९ असारसम्म थप ८ जिल्लासमेत गरी ३४ जिल्लामा विद्युतिकरण कार्य सम्पन्न भएको छ ।

मुलुकमा विद्युतको उत्पादन हरेक नेपालीले बत्ती बाल्ने गरी भए पनि ग्रामीण र दुर्गम क्षेत्रका जनताले उपभोग गर्न पाएका छैनन् । पूर्वाधारको अभाव र भौगोलिक विकटताले ती जनता विद्युत् उपभोगबाट बञ्चित हुनपरेको छ ।


क्लिकमान्डु