मर्जरमा दिने छुट हटाउने तयारीमा राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी वर्षदेखि मर्जरमा जाने संस्थालाई दिने छुट हटाउने भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्षलाई बोलाएर आगामी वर्ष मर्जरमा सम्झौता गर्ने बैंकहरुले पाउने छुट नपाउने जानकारी दिए ।
‘छुट खोजेर मर्जर गर्न खोजेको हो भने असार मसान्तसम्म सम्झौता गर्नुहोस्,आगामी वर्ष यसले निरन्तरता पाउने छैन,’गभर्नर अधिकारीको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक वाणिज्य बैंकका अध्यक्षले भने ।
अहिले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्जरमा गए सिआरआर आधा प्रतिशत बिन्दु छुट दिएको छ । वैधानिक तरलता अनुपातमा एक प्रतिशत बिन्दुले छुट दिन्छ ।
छुट सुविधा भने समान प्रकृतिका संस्था मर्जर गर्दा मात्र पाइने छ । यस्तै प्रमुख कार्यकारी अधिकृतलाई कार्यकालको सीमा नलाग्ने,कुलिङ पिरियड नहुने,स्प्रेडदर तथा खराब ऋण तथा शाखा विस्तार समेत राष्ट्र बैंकले मर्जमा जाने संस्थालाई छुट दिने गरेको छ ।
‘छुट सुविधा सधै दिन सकिने भन्ने हुँदैन,आउने वर्षदेखि तपाईँहरुले छुट दिन सकिदैन,’गभर्नर अधिकारीले बैंक अध्यक्षसँगको बैठकमा भनेका थिए ।