बुधबार विद्युत प्राधिकरणले बेच्यो ८० लाख रुपैयाँको बिजुली, मूल्य प्रतियुनिट १२ भारुसम्म



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतलाई बिजुली बिक्री गर्न शुरु गरेको छ । बुधबार प्राधिकरणले इण्डियन इनर्जी एक्सचेञ्ज (आइएक्स) मार्फत ३७.७ मेगावाट विजुली बिक्री गरेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए ।

‘नेपालमा आन्तरिक उत्पादन बढेपछि हामीले आइएक्समा विजुली बिक्री गर्न राखेका थियौँ,’ भट्टराईले भने, ‘हिजो सबै विजुली बिक्री भयो । आज पनि बिक्री भएको छ । अब प्राधिकरणले बर्खाभरी विजुली बिक्री गर्छ ।’

भट्टराईका अनुसार प्राधिकरणले पिक आवर (धेरै विजुलीको माग हुने समय) मा प्रति युनिट १२ भारु र कम लोड भएको समयमा प्रति युनिट २.९९ भारतीय रुपैयाँमा बिजुली बिक्री गरेको हो । ‘औषतमा हामीले ७.२० भारु विजुली विक्री गरेका हौं,’ भट्टराईले भने ।

३७.७ मेगावाट विजुली बिक्री गर्दा नेपालले झन्डै ८० लाख रुपैयाँ आम्दानी गरेको छ ।

प्राधिकरणले ढल्लेवर प्रसारणलाईनबाट त्रिशुली जलविद्युत आयोजना र देवघाट जलविद्युत आयोजनाबाट विजुली बिक्री गरेको हो । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ आगामी दिनमा भारततर्फ थप विजुली निर्यात हुने बताउँछन् ।

‘हामीसँग १ हजार मेगावाट विजुली निर्यात गर्न सकिने पूर्वाधार छ,’ घिसिङले भने, ‘भारतले ३ सय मेगावाट किन्ने सहमति दिइसकेको छ र थप किन्ने प्रतिवद्धता पनि जनाएको छ । हाम्रो आन्तरिक खपतभन्दा बढी भएको विजुली भारत निर्यात गर्छौं ।’

यो वर्ष जेठ महिनाको शुरुदेखि नियमित पानी पर्न थालेपछि विद्युतको उत्पादन बढेको हो । जसले गर्दा प्राधिकरणले विजुली निर्यात गर्न सकेको हो । नेपालमा नदी प्रवाहमा आधारित (आरओआर) जलविद्यतु आयोजना धेरै हुँदा खुख्यायाममा बिजुलीको अभाव हुने र बर्खामा विजुलीको उत्पादन बढ्ने गर्छ ।

ढल्केवरबाट विजुली निर्यात गर्न सुरु गरेको प्राधिकरणले सुदुरपश्चिम प्रदेशको विद्युत आपूर्ति नियमित गर्न टनकपुरबाट भने विजुली आयात गरिरहेको छ ।

प्राधिकरणले टनकपुरबाट प्राधिकरणले प्रति युनिट ४.१६ भारतीय रुपैयाँमा विजुली आयात गरिरहेको छ । ‘टनकपुरबाट आवश्यकताका आधारमा विजुली आयात हुन्छ ’ प्राधिकरणका प्रवक्ता भट्टराईले भने, ‘कहिले ३० मेगावाट आउँछ, कहिले ४० मेगावाट आउँछ ।’


क्लिकमान्डु