एक कठ्ठा जग्गा बेच्न पनि कम्पनी चाहिने व्यवस्था उचित होइनः एमाले नेता पोखरेल



काठमाडौं । नेकपा एमालेका नेता कृष्णभक्त पोखरेल घर जग्गाको कारोबार गर्दा विशिष्टकृत क्षेत्रबाट मात्रै कारोबार गर्न नहुने बताएका छन् ।

शनिबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि बोल्दै उनले एक कठ्ठा जग्गा बिक्री गर्नका लागि पनि विशिष्टकृत क्षेत्रबाट मात्रै कारोबार गर्न पाउने व्यवस्था उचित नभएको बताए ।

‘रामबहादुरले श्यामबहादुरलाई एक कठ्ठा जग्गा बिक्री गरेर छोरीको विवाह गर्न पनि एजेन्टबाट मात्रै जाने व्यवस्था तत्काल रोकियोस भन्ने म माग गर्दछु,’ उनले भने ।

यसअघि सरकारले नीति तथा कार्यक्रममा अनाधिकृत रुपमा भइरहेको घरजग्गा कारोबारलाई विशिष्टीकृत क्षेत्रबाट मात्रै कारोबार गर्ने व्यवस्था गर्ने घोषणा गरेको थियो ।

घरजग्गा व्यवसायीहरूले जथाभावी प्लटिङ गरेर बिक्री वितरण गर्दै आएको भन्दै आगामी वर्ष उक्त क्षेत्रलाई व्यवस्थित गर्ने घोषणा गरेको हो । यसका लागि छुट्टै संस्था खडा गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

अहिले जुनसुकै व्यक्तिले पनि कर छली गरेर सहजै तरिकाले घरजग्गा कारोबार गर्न सकिने अवस्थाले सरकारले अर्बौ रुपैयाँ राजस्व गुमाउँदै आएकाले उक्त व्यवस्था गर्न लागिएको हो ।

नेपालमा पछिल्लो समयमा उच्च रुपमा कारोबार बढेसँगै घरजग्गाको मूल्य करिब ८० प्रतिशतसम्म बढेको छ ।

साथै, विभिन्न क्षेत्रमा जथाभावी प्लटिङ हुँदै भएको छ । जसमा सरकारले हालसम्म हस्तक्षेप गर्न सकेको छैन । घरजग्गा कारोबार गर्दा वास्तविक मूल्य अर्कै र किनबेच भएको मूल्य अर्कै हुँदा सरकारले ठूलो रकमको राजस्व गुमाउँदै आएको सरोकारवालाहरूले बताउँदै आएका छन् ।

अधिकांश व्यवसायीहरूले सरकारी मूल्याङ्कनको भन्दा ५ गुणा बढी मूल्यमा घरजग्गा बिक्री गर्दै आएका छन् ।

त्यसैले, यस क्षेत्रलाई संस्थागत गरी व्यवस्थित गर्ने सरकारले जनाएको छ । त्यसैगी, भण्डारीले भू–उपयोग नीति तथा कानूनअनुसार भूमि वर्गीकरण गरी संघ, प्रदेश र स्थानीय तहको भू-उपयोग योजना तयार गर्ने बताएकी छिन् ।


क्लिकमान्डु