स्वदेशी उत्पादन र उपभोग बढाउने अभियान सुरु गरिन्छ: उद्योगमन्त्री बडू



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट स्वदेशी उत्पादन र उपभोग बढाउने अभियान सुरु गरिने बताएका छन् ।

नेपाल उद्योग परिसंघले आयोजना गरेका ‘मेक इन नेपाल स्वदेशी समिट’ संवाद सम्मेलनमा मन्त्री बडूले निजी क्षेत्रको सहभागितामा स्वदेशी उत्पादन र उपभोग बढाउने अभियान सुरु गरिने बताएका हुन् ।

निजी क्षेत्रसँगको सहकार्यमा आगामी आर्थिक वर्षमा रुग्ण उद्योग समेत सञ्चालनमा ल्याउँदै स्वदेशी उत्पादन बढाउन सुरु गरिने मन्त्री बडूले जानकारी दिए । ‘विगत देखि रुग्ण उद्योग सञ्चालन गरिनेछ भनिएको छ,’ मन्त्री बडूले भने,‘तर, यसपटक हामी वर्षाैदेखि बन्द रहेका उद्योग निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालन गर्छाैँ । त्यसका लागि मन्त्रालयले काम गरिरहेको छ ।’

मन्त्री बडूले औद्योगिक क्षेत्र निर्माणमा लागि निजी क्षेत्रले नेतृत्व गर्न आह्वान गरे ।

‘तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजीमा औद्योगीक क्षेत्र स्थापना गर्ने भनेर शिलन्यास गर्नु भएको थियो ,’ मन्त्री बडूले भने, ‘तर, त्यहाँ कुनै पूर्वाधार बनेको छैन् । सरकारले मात्र नभई निजी क्षेत्रले पनि पूर्वाधार विकासमा काम गर्नु पर्छ भन्ने हाम्रो सोच हो ।

सरकार आफ्नो क्षमता अनुसार सहयोग गर्न तयार छ ।’ निजी क्षेत्र सक्रिय सहभागिता बिना आर्थिक विकास हुन नसक्ने भन्दै स्वदेशी उत्पादन र उपभोग बृद्धि अभियान सुरु गर्न लागिएको मन्त्री बडूको भनाई छ


क्लिकमान्डु