नेपाल वेलहोप एग्रीटेकले गर्यो सवा ४ अर्ब बढीको कारोबार



काठमाडौं । नेपाल वेलहोप एग्रिटेक प्रालिले सन् २०२१ मा सवाँ ४ अर्ब बढीको कारोबार गरेको छ । विभिन्न जीवजन्तुका लागि दाना उत्पादन गर्दै आएको वेलहोप एग्री टेकले गत वर्ष मात्रै ४ अर्ब २७ करोड १० लाख रुपैयाँ कारोबार गरेको हो ।

कम्पनीले सन् २०१९ मा ३ अर्ब २४ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो भने सन् २०२० मा ३ अर्ब ४६ करोड ७० लाख रुपैयाँको कारोबार गरेको जनाएको छ । तर, सन् २०२१ मा कम्पनीको आम्दानी २३.२० प्रतिशतले बढेको छ ।

कम्पनीले ४ अर्बको आम्दानी गरेपनि नाफा भने घटेको देखिन्छ । सन् २०२० मा ११ करोड नाफा कमाएकोमा गत वर्ष १० करोड २० लाखमात्रै नाफा कमाएको छ । जसमा सन् २०२० मा ८.०१ प्रतिशतले नाफा कमाएको थियो भने सन् २०२१ मा घटेर ७.३४ प्रतिशत मात्रै नाफा कमाएको छ ।

कम्पनीका अनुसार बजारमा दानाको उच्च माग रहेको तर मूल्य वृद्धिले गर्दा कम नाफा कमाएको जनाएको छ ।

केयर रेटिङ नेपालले कम्पनीलाई दीर्घकालिन र अल्पकालिन कर्जाका लागि १ अर्ब ३६ करोडको रेटिङ गराएको छ । जसमा दीर्घकालिन कर्जाका लागि २० करोड १२ लाख रुपैयाँ र अल्पकालिन कर्जाका लागि १ अर्ब १५ करोढ ८७ लाख रुपैयाँको रेटिङ गराएको छ ।

नेपाली बजारमा विगत १५ वर्षदेखि विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी पोल्ट्री क्षेत्रलगायत अन्य दाना उत्पादन गर्दै आएको छ । नेपालमा दाना क्षेत्रमा स्थापित वेलहोप एग्रीटेकको देशभर ६ सय वटा होलसेलर खुद्रा व्यवसायी छन् ।

कम्पनीले ‘भिजय पेलेट दाना’ ब्रान्डअन्तर्गत बोइलर, लेयर्स, पेरेन्ट, माछा, गाईवस्तु र बंगुरको दाना ३० देखि ५० केजीको बोरामा बिक्री गर्दै आएको छ ।

कम्पनीको चितवनको भरतपुर, मोरङको विराटनगर र बाँकेको कोहलपुरमा उद्योग छन् । जसमा कम्पनीले भारत, अमेरिका र नेदरल्यान्टबाट कृषिजन्य कच्चा पदार्थ आयात गर्दै आएको छ भने चीनबाट भिटामिन, औषधी, पोषक तत्व र इन्जाइम आयात गर्दै आएको छ ।

२०२०÷२१ को राष्ट्रिय आर्थिक सर्वेक्षण अनुसार मासु उत्पादनमा ५४.६ प्रतिशत अर्थात् ५ लाख ५२ हजार मेट्रिक टनले बढेको उल्लेख छ । सन् २०२१ मा कम्पनीको ८८.५८ प्रतिशत आम्दानी पोल्ट्री क्षेत्र (ब्रोइलर र लेयर्स) मा दाना खपत भएको कम्पनीको भनाइ छ ।

साथै, कम्पनीले विराटनगरमा प्रति घण्टा १५ मेट्रिक टन दाना उत्पादन गर्ने तयारी रहेको जनाएको छ ।

वैद्य ग्रुप र वेलहोप ग्रुपको ५०/५० प्रतिशत शेयर रहेको यस कम्पनीले ठूलो परिमाणमा दाना उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

वैद्य ग्रुपले विकास निर्माण, ट्रडिङ, सर्भिस, सूचना, प्रविधि तथा शिक्षा क्षेत्रमा आबद्ध रहेको छ । त्यस्तै, चीनमा आधारित वेलहोप फुड जनावर तथा त्यस सम्बन्धी वस्तुहरू उत्पादन गर्दै आएको छ ।

चीनमा मात्रै ३२ वटा प्रदेश र २२ वटा विभिन्न देशमा दाना उत्पादन गर्दै आएको छ । नेपालका लागि सुरेश वैद्य अध्यक्ष रहेको यस कम्पनीमा दुई जना निर्देशक छन् । ज्याङ जीएनबो र सिओ ह्वोपाइ यस कम्पनीको निर्देशक रहेका छन् ।


क्लिकमान्डु