लगानी बोर्ड र नबिल बैंकबीच सहकार्य, नबिलले लगानी प्रवर्द्धनका लागि काम गर्ने



काठमाडौं । लगानी बोर्ड र नबिल बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

लगानी बोर्डको कार्यालयमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशी भट्ट र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

लगानी बोर्डसँग सहकार्यमा नबिल बैंकले लगानी प्रवर्द्र्धका लागि काम गर्नेछ । सम्झौतापछि लगानी बोर्डका सीइओ भट्टले विदेशी लगानी भित्र्याउनका लागि बैंकको भूमिका महत्वपूर्ण हुने र नबिलसँग सहकार्यले लगानी भित्राउन सहज हुने बताए ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले लगानी बोर्डले स्वीकृत गरेको अरुण तेस्रोको वित्तीय व्यवस्थापनमा नबिलले काम गरेको र लगानी भित्राउनका लागि सहयोगी हुने गरेर काम गर्ने बताए ।

लगानी बोर्ड स्थापना भएको १० वर्षपछि लगानी भित्र्याउनका लागि पहिलो पटक बैंकलाई साझेदार बनाएर काम गर्न लागेको हो ।

नबिल बैंकका डेपुटी जीएम आदर्श बजगाईँले विदेशी लगानीका लागि बैंकको काम महत्वपूर्ण भएको र बैंकले बोर्डमा डेस्क राख्ने तथा विदेशमा लगानीकर्ता खोज्नको लागि समेत बोर्डसँग मिलेर काम गर्ने बताए ।

‘विदेशी लगानीकर्ता नेपाल आउने पक्का भएपछि उसको पहिलो काम बैंकको खाता खोल्ने हो, हामीले विदेशी लगानीकर्तालाई आवश्यक पर्ने कानूनीदेखि प्रक्रियागत विषयमा सहजिकरणको काम गर्छौ,’ उनले भने ।


क्लिकमान्डु