काठमाडौंका मतदाताको प्रतिक्रिया राजनीतिक दलप्रतिको आक्रोश होः हरिबोल गजुरेल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले काठमाडौंका मतदाताको प्रतिक्रिया राजनीतिक दलप्रतिको आक्रोश भएको बताए ।

काठमाडौं महानगरपालिकाको मेयरमा राजनीतिक दलका प्रतिनिधिभन्दा स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बर मत पाएका छन् । बालेनले राजनीतिक दलभन्दा धेरै मत पाउनुमा राजनीतिक दल जिम्मेवार रहेको गजुरेलको धारणा छ ।

‘सरकारका प्रधानमन्त्री र मन्त्रीहरु खुलेयाम भ्रष्टाचार गरिरहेका छन् । चुनाव खर्चिलो बन्दै गएको छ । बिकृती बढ्दै गएको छ,’ विनियोजन विधेयक २०७९ को सिद्दान्त र प्राथमिकतामाथि प्रतिनिधिसभामा भइरहेको छलफलमा गजुरेलले भने ।

आगामी आर्थिक वर्षको बजेटले विकासको जनअपेक्षा पूरा गर्नुपर्ने गजुरेलको भनाइ छ ।

‘कृषिको विकास गर्ने भनिएको छ । तर विनियोजन विधेयकको सिद्दान्त र प्राथमिकतामा वैज्ञानिक भूमिसुधार लागू गर्ने विषय समेटिएको छैन्,’ गजुरेलले भने, ‘विगतमा निर्यात हुने गरेका कृषिउपजको समेत आयात छ । वैज्ञानिक भूमिसुधार लागू नहुँदासम्म कृषि क्षेत्रको विकास हुन सक्दैन् ।’
पूर्वाधार विकासमा समेत सरकारले कुनै प्रष्ट योजना नभएको गजुरेलको भनाइ छ ।

‘सडक किन बनाउने योजना छैन । सडक बनाउँदा कस्तो फाइदा हुन्छ, अध्ययन गरिएको छैन,’ गजुरेलले भने, ‘हचुवाका भरमा निर्माण भएका सडकले बाढी पहिरोको समस्या निम्त्याएको छ ।’


क्लिकमान्डु