ऋण लिने खाता ४ प्रतिशतमात्रै, वर्ष दिनमा थपिए १ लाख ५३ हजार



काठमाडौं । मुलुकको जनसंख्याभन्दा धेरै बैंक खाता भए पनि ऋण लिने खाताको भने संख्या निकै कम छ । पछिल्लो एक वर्षमा भने ऋण लिने खाता (लोन अकाउन्ट)को संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुमा लोन अकाउन्टको संख्या डेढ लाखले थपिएका छन् ।

राष्ट्र बैंकले विवरणअनुसार पछिल्लो एक वर्षमा २०७८ चैत महिनासम्म १ लाख ५३ हजार ३ सय ५६ लोन अकाउन्ट थपिएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ९.११ प्रतिशतले धेरै हो ।

दुई वर्षअघि मुलुकमा कोरोना संक्रमणले उद्योग व्यवसाय थलिएका थिए । उद्योग व्यवसाय समस्याग्रस्त भएपछि नेपाल राष्ट्र बैंकले विभिन्न प्याकेजमा सुविधा दिएको थियो ।

राष्ट्र बैंकले सस्तो व्याजमा ऋण उपलब्ध गराएको थियो । क्षेत्रअनुसार विभिन्न प्याकेज ल्याएपछि समस्याग्रस्त भएका सानादेखि ठूला व्यवसायले बैंकबाट सस्तो ऋण उपलब्ध गराएको थियो ।

कोरोना संक्रमण सकिदै जाँदा केही नयाँ व्यवसाय, कम्पनी खुल्ने क्रम पनि बढेको छ । यसले पनि बैंकबाट ऋण लिने अकाउन्टको संख्यामा वृद्धि भएको छ ।

अहिलेसम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्समा लोन अकाउन्टको संख्या १८ लाख ३६ हजार १ सय ९१ पुगेको छ । गत वर्षको चैत महिनामा यो संख्या १६ लाख ८२ हजार ८ सय ४५ थियो ।

कुल खातामध्ये चालु आर्थिक वर्षको चैत महिनासम्मको तथ्यांकअनुसार ऋण लिने अकाउन्ट जम्मा ४.२४ प्रतिशतमात्र रहेको छ ।

वाणिज्य बैंकहरुमा १४ लाख ९० हजार २ सय ४ लोन अकाउन्ट रहेका छन् । मुलुकमा हाल २७ वटा वाणिज्य बैक सञ्चालनमा रहेका छन् । त्यस्तै, विकास बैंकमा लोन अकाउन्ट खोल्नेको संख्या ३ लाख ५ हजार १ सय ४४ पुगेका छन् । भने फाइनान्समा यस्तो खाता खोल्नेको संख्या ४० हजार ८ सय ४३ पुगेका छन् ।

मुलकमा हाल १७ विकास बैंक र सी समूहमा पर्ने फाइनान्सहरुको सख्या पनि १७ नै रहेको छ ।
अहिलेसम्म बैंक तथा वित्तीय संख्या (क, ख र ग) मा खाता खोल्नेको संख्या ४ करोड ३२ लाख ८६ हजार ३ सय ७४ पुगेको छ । यो गत वर्ष चैत महिनाको भन्दा ६९ लाख २० हजार ३ सय ३३ ले बढी हो ।

एक वर्षमा ६९ लाख २० हजार बैंक खाता थपिँदा ऋण लिने खाताको संख्या १ लाख ५३ हजारले थपिएका छन् ।


क्लिकमान्डु