पप्पु कन्स्ट्रक्सन सञ्चालक रौनियार र छोरा सुमितलाई सवा ७ करोडको जरिवाना



काठमाडौं । विशेष अदालतले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियारलाई जनही ३ करोड ६२ लाख रुपैयाँ बराबरको जरिवाना हुने फैसला गरेको छ ।

उनको कम्पनी पप्पु कन्स्ट्रक्सनले गुणस्तरहिन पुल बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन वर्ष अघि २०७५ सालमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

उक्त मुद्दामा रौनियारसहित १२ जनालाई विपक्षी बनाइएको थियो ।

आइतबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वय यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उक्त मुद्दामा ८ जनालाई दोषी ठहर गरेको छ भने ४ जनालाई सफाइ दिएको छ ।

अदालतले मनोजकुमार श्रेष्ठ, भानु जोशी र राजेशकुमार यादवलाई ८ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको छ भने नवराज केसी र हरिबहादुर खड्कालाई ६ महिना कैद र २० हजार रुपैयाँ तोकेको छ । साथै, कर्मा तेन्जिङ तामाङलाई ४ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

उक्त मुद्दामा दीपेन्द्रबहादुर बिष्ट, प्रेमप्रसाद चुवाई, गोविन्द गैरे र कृष्णदेव यादवले सफाइ पाएका छन् ।


क्लिकमान्डु