व्यापारघाटा १३ खर्ब पुग्यो, निर्यात हालसम्मकै उच्च



काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालले १३ खर्ब बढी व्यापारघाटा व्यहोरेको छ ।

चालु आर्थिक वर्षको चैतमसान्तसम्ममा नेपालले १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

गत वर्षको सोही अवधिमा नेपालले १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको थियो । जुन यो वर्ष व्यापारघाटा २८.४७ प्रतिशतले बढेको छ ।

विभागका अनुसार नेपालले चैतससान्तसम्ममा १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले १२ खर्ब ६ अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

नेपालले चैत मसान्तसम्ममा १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो । गत वर्षको तुलनामा चालु आवमा ३१.९७ प्रतिशतले बढी आयात गरेको विभागले जनाएको छ ।

त्यसैगरी, नेपालले ९ महिनाको अवधिमै हालसम्मै उच्च निर्यात गर्न सफल भएको छ । नेपालले सो अवधिमा १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

गत वर्षको सोही अवधिमा नेपालले ९४ अर्ब ७६ करोड ७१ लाख रुपैयाँको मात्रै निर्यात गर्न सफल भएको थियो । जसमा चालु आवमा गत वर्षको तुलनामा ६९.४४ प्रतिशतले निर्यातमा वृद्धि देखिएको छ ।


क्लिकमान्डु