पर्व बिदा कटौती गरेर साताको दुईदिन सार्वजनिक बिदा दिने तयारी



काठमाडौं । सरकारले पर्व बिदालाई कटौती गरेर साताको दुईदिन शनिबार र आइतबार बिदा दिने तयारी गरेको छ ।

गतसाता मन्त्रिपरिषद्मा पुगेको प्रस्तावमा अध्ययन गर्ने मुख्यसचिव शंकरदास बैरागीले पाएका थिए । मुख्यसचिव बैरागीले नेपाल सरकारका सचिवहरु तथा सरोकारवालासँग यसको बारेमा छलफल गरेका थिए ।

छलफलमा साताको दुईदिन बिदा दिने तथा अहिलेको पर्व बिदा कटौती गर्ने सुझाव सचिवहरुले मुख्यसचिवलाई दिएका थिए ।

सरकारले २०७९ सालमा शनिबार बाहेक ४३ दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ । जसमा ६ दिन दशैं र तिहारको लागि ४ दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित भइसकेको छ ।

सरकारले पहिले नै घोषणा नगरेका बिदाहरु समेत पछिल्लो समय दिने गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको खपत कम गर्न सातामा दुईदिन सार्वजनिक बिदाको प्रस्ताव अगाडि सारेको हो ।

मुख्यसचिवलाई सचिवहरुले साताको दुईदिन बिदा दिनुपर्ने र सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय समय राख्नुपर्ने सुझाव दिएका छन् ।

मन्त्रिपरिषद्को कार्यालयमा पेश हुने प्रस्तावमा प्रधानमन्त्री सहमत भएमा बैशाखदेखि दुईदिन बिदा दिने छ । अर्थमन्त्री तथा वाणिज्यमन्त्री दुईदिन बिदाको पक्षमा छन् । सरकारका सचिवहरु समेत दुईदिन बिदाको पक्षमा छन् ।

‘मन्त्रीहरु प्रस्तावको पक्षमा रहेको र प्रधानमन्त्री सहमत भएमा दुईदिन बिदाको प्रस्ताव कार्यान्वयनमा आउने छ,’एक सचिवले भने ।

सरकारले परिक्षणको लागि ३ महिना दुईदिन बिदाको निर्णय कार्यान्वयनमा ल्याउने र त्यसले सार्वजनिक सेवा प्रवाहमा असर नगरेमा र पेट्रोलियम पदार्थको खपत घटाएमा निर्णयलाई थप लागू गर्ने तयारी गरेको छ ।

काठमाडौं उपत्यकामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने चलन भने विगतमा कार्यान्वयनमा आएको थियो । तर,सार्वजनिक सेवा सञ्चालनमा कर्मचारीले ध्यान नदिएपछि त्यो निर्णय कार्यान्वयन भएन ।

विकसित देशहरुमा सातामा दुईदिन सार्वजनिक बिदा दिने चलन छ । तर,दक्षिण एशियाली देशमा भने सातामा एकदिन मात्र सार्वजनिक बिदा दिने चलन छ ।


क्लिकमान्डु