बढ्यो भान्छाको बजेट, मुद्रास्फिति ७.१४ प्रतिशत पुग्यो



काठमाडौं । अत्यधिक महंगी बढ्दा भान्छाको बजेट बढेको छ । अधिकांश उपभोग्य सामग्रीमा मूल्यवृद्धि हुँदा दैनिकी बजेट बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिति ७.१४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फिति ३.०३ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ७.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फिति ६.८४ प्रतिशत छ ।

२०७७ फागुन महिनाको तुलनामा २०७८ फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, तरकारी, दुधजन्य उत्पादन तथा अण्डा र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २६.३४ प्रतिशत, १३.९६ प्रतिशत, ११.३० प्रतिशत र १०.३० प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा उपसमूहको मुद्रास्फीति क्रमशः १६.२७ प्रतिशत, ९.०१ प्रतिशत र ८.७९ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.३१ प्रतिशत, तराईमा ७.३६ प्रतिशत, पहाडमा ७.६९ प्रतिशत र हिमालमा ७.५६ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ फागुनमा यी क्षेत्रहरुमा क्रमशः २.५० प्रतिशत, ३.२५ प्रतिशत, ३.४० प्रतिशत र १.३१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

थोक मुद्रास्फीति द्ध। २०७८ फागुन महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३.१३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.३० प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १५.०४ प्रतिशत, १२.९९ प्रतिशत र ७.६१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २४.२४ प्रतिशत छ ।

फागुन महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ७.२६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १.८९ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९.४४ प्रतिशत र ६.६४ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु