एचआइडीसीएलको लिलामी सेयरमा आवेदन दिनेको पैसा फिर्ता हुने, कस्तो छ प्रक्रिया ?



काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले लिलामीको सेयरमा बोलपत्रको माध्यमबाट आवेदन दिनेहरुको रकम फिर्ता गर्न थालेको छ ।

कम्पनीले फागुन १ देखि बिक्री खुल्ला गरेको लिलामी सेयरमा शिलबन्दी बोलपत्र पेश गरेका लगानीकर्ताले रकम फिर्ता पाउन थालेका हुन् । धितोपत्र बोर्डले फागुन १२ गते अर्को सूचना जारी नभएसम्म लिलाम बढाबढ मार्फत सेयर बिक्री नगर्न निर्देशन दिएको थियो ।

लिलामी प्रक्रिया लम्बिने भन्दै बोर्डले कम्पनीलाई परेका आवेदकको रकम फिर्ता गर्न निर्देशन दिएको थियो । जसले गर्दा कम्पनीले शुक्रबारदेखि रकम फिर्ता दिन थालेको हो ।

आवेदन दिएका लगानीकर्ताले बोलपत्र बुझाएको संकलन केन्द्रहरुमा स्वयं उपस्थित भएर बोलपत्र दर्ता गर्दा लिएको सक्कल दर्ता रसिद, नागरिकता वा आफ्नो परिचय खुल्ने कागजात लिएर जानुपर्ने छ ।

बैंक भौचर तथा आइपीएसमार्फत रकम जम्मा गरेका लगानीकर्ताले रकम फिर्ता लिनको लागि कम्पनीले तोकेको ढाँचामा सक्कल बैंक भौचर र आइपीएसको स्टेटमेन्टसहित निवेदन दिनु पर्नेछ ।

बोलपत्रवालाको रकम निष्कासन बैंकको खातामा जम्मा भएको यकिन गरे पश्चात् बोलपत्रवालाहरुको निवेदनमा उल्लेख भएको बैंक खातामा उक्त रकम निवेदन प्राप्त भएको भोलि पल्ट रकम जम्मा हुने कम्पनीले जनाएको छ ।

गुड फर पेमेन्ट चेकमार्फत बोलपत्र पेश गरेका लगानीकर्ताहरुले उक्त चेक क्यान्सिल गर्न उक्त चेक संलग्न गरी निवेदन दिनु पर्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु