अनलाइनबाटै बीमा पोलिसी किन्न सकिने ई-बीमा डटकम, एजेन्ट र बीमितलाई झन् सजिलो
काठमाडौं । २०७२ वैशाख १२ गतेको भूकम्पले लाखौं मानिस बस्ने घरको जग हल्लाइदियो ।भूकम्पकै कारण हजारौंले ज्यान गुमाए । भूकम्पले दिएको घाउको असर महिनौं । र, वर्षौसम्म रह्यो ।
भूकम्पले तहसनहस बनाएको सहरमा बसेर युरोपमान श्रेष्ठले योजना बुने । त्यो थियो ‘ई-बीमा डटकम’ ।
मानिसलाई प्रत्यक्ष भेटेर वा घरमै पुगेर बीमा गर्ने अभिकर्ताहरुको परम्परागत शैलीको व्यवसायलाई अझ सहज बनाउँदै ‘डिजिटल्ली कनेक्ट’को योजना लिएर श्रेष्ठले ई-बीमा डटकम शुरु गरेको बताउँछन् ।
‘भूकम्पपछि घरमै बसेर बीमामा पनि केही गर्न सकिन्छ भन्ने सोचको उपज हो, ई-बीमा’,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘ई-बीमामार्फत् बीमालेख बिक्री, दाबी तथा दाबी भुक्तानीको प्रक्रिया सहज बनाउने उद्देश्यले यसको शुरुवात भएको हो ।’
श्रेष्ठको योजना अनलाइनमार्फत् बीमालेख बिक्रीदेखि दाबी भुक्तानीसम्मको सम्पूर्ण प्रक्रिया निकै सरल, सहज र पारदर्शी बनाउनु थियो ।
बीमा व्यवसायमा यस प्रकारको अभ्यास छिमेकी मुलुक भारतमा पोलिसी बजारमार्फत् प्रयास भइरहेको र राम्रो सफलता समेत हात परिसकेको थियो ।
‘नेपालमा पनि प्रविधिको विकास र प्रयोग उच्च हुँदै गर्दा सोही प्रकारको सेवा दिन सकिन्छ भन्ने सोचले यसको शुरुवात भएको हो,’ श्रेष्ठले भने, ‘यसको उद्देश्य बीमाको परम्परागत व्यवसायमा ई-बीमामार्फत् सकारात्मक रुपमा व्यवसायिक धक्का दिनु थियो । जसले बीमाको साक्षरतासँगै पहुँच पनि बढोस् भन्ने हाम्रो उद्देश्य थियो ।’
ई-बीमा कम्पनीमार्फत् ग्राहकहरुले विभिन्न जीवन र निर्जीवन दुबै कम्पनीका बीमालेख तुलना गर्न, खरिद गर्न सक्छन् । उनका अनुसार ई-बीमा डटकममार्फत् निर्वाधरुपमा सहज र सरल प्रक्रिया विभिन्न कम्पनीका बीमालेख खरिद गर्न सक्छन् ।
सन् २०१५ मा स्थापना भएको ई-बीमा डटकम अनलाइनबाटै बीमालेख बिक्री गर्न नेपालको पहिलो कम्पनी हो ।
‘विभिन्न कम्पनीका बीमालेख अनलाइनमार्फत् घरमै बसेर तुलना गर्न र आफ्नो आवश्यकताअनुसारको बीमालेख किन्न सकिने प्लेटफर्म हो ई-बीमा,’ कम्पनीका प्रबन्ध निर्देशक रोशन ज्ञवालीले भने, ‘कम्पनीले बीमा पोलिसी बेच्नेमात्रै नभइ सचेतना फैलाउने र बीमकलाई सँगसँगै लैजाने उदेश्य लिएको छ ।’
कम्पनी सञ्चालनका लागि नियामक निकाय बीमा समितिबाट स्वीकृति लिनु जरुरी थियो । तर, शुरुवाती दिनमा उनीहरुले कर्पोरेट अभिकर्ताको इजाजत भने पाएनन् ।
कम्पनीले संस्थागत अभिकर्ताको इजाजत नपाउँदासम्म र्ई-बीमामा आबद्ध व्यक्तिहरु आफैं तालिममा जाने, इजाजत लिएर बीमालेख बिक्री गर्न थाले ।
शुरुवाती दिनदेखि कम्पनीमा सल्लाहकारका रुपमा रहेका ज्ञवाली १ वर्षयता भने पूर्णरुपमा सक्रिय छन् ।
बीमा व्यवसायमा विशेष दख्खल र अनुभव देखेपछि संस्थापक श्रेष्ठले प्रबन्ध निर्देशकका रुपमा ज्ञवालीलाई र प्रमुख कार्यकारी अधिकृत (सीइओ)का रुपमा राजेश श्रेष्ठलाई ल्याएका थिए ।
ज्ञवालीले कम्पनीको रणनीतिक योजना सम्हाल्छन् भने श्रेष्ठ कम्पनी सञ्चालनदेखि मार्केटिङसम्मको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
र्ई-बीमा डटकमले निकट भविष्यमै आक्रामकरुपमा व्यवसाय बिस्तारको रणनीतिका साथ अघिबढेको छ ।
सञ्चालक युरोप श्रेष्ठ कम्पनीमा ‘योङ र इनर्जेटिक’ टीम रहेको र ईबीमामार्फत् ग्राहकले आफू खरिद गरेको बीमालेखबारे हरेक जानकारी अनलाइनबाटै पाउने भएकाले आगामी दिनमा यसको बजार बिस्तार व्यापकरुपमा हुने विश्वास व्यक्त गर्छन् ।
पाल्पा घर भएका कम्पनीका प्रबन्ध निर्देशक ज्ञवालीले इन्स्योरेन्समा स्नाकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् भने उनी पार्ट क्वालिफाइड एक्चुअरीसमेत हुन् । ज्ञवालीसँग विगतमा ४ वटा नेपाली बीमा कम्पनीमा १० वर्ष काम गरेको अनुभव छ ।
उनीसँग ती चार बीमा कम्पनीमा पोलिसी डिजाइन, मार्केटिङ रिसर्चको अनुभव छ ।
‘इन्स्योरेन्स पढेर इन्स्योरेन्स कम्पनीमै १० वर्ष काम गरेको अनुभव भएपछि यही क्षेत्रमै केही गर्नुपर्छ भनेर उद्देश्यले ई-बीमा डटकममा आबद्ध भएको हुँ,’ ज्ञवालीले भने ।
संयोगवश उनी आवद्ध भएको केही समयमा नियामक निकाय बीमा समितिले ई–बीमालाई संस्थागत बीमा अभिकर्ताको लाइसेन्स पायो ।
‘नेपालमा अझै पनि अनलाइनबाट बीमालेख बिक्री गर्नु चुनौतीपूर्ण छ,’ ज्ञवालीले भने, ‘यो अभ्यास नेपालीको लागि नयाँ पनि हो । बीमितहरु अनलाइन बीमामा अभ्यस्त हुन केही समय भने पक्कै लाग्छ ।’
तर त्यसका लागि निरन्तर चेतना जागृत गर्दै जानुपर्ने उनको भनाइ छ ।
मानिसको जीवनमा परिवर्तन ल्याउनका लागि ई–बीमा डटकमको अवधारणा ल्याइएको उनको भनाइ छ ।
‘ई-बीमाको लक्ष्य नै बीमा व्यवसायमा आमूल परिवर्तन ल्याउनु हो,’ उनले भने ।
यता सीइओमा राजेश श्रेष्ठ कम्पनीमा आबद्ध भएको पनि एकवर्ष भयो । श्रेष्ठसँग टेलिकम र मार्केटिङ क्षेत्रमा पछिल्लो १ दशकभन्दाबढी समय काम गरेको अनुभव छ । नेपालको बीमा व्यवसायमा अनलाइन माध्यमबाट केही गर्ने नयाँ सोचका साथ आफू ई-बीमा डटकमसँग जोडिएको उनको भनाइ छ ।
नेपाली बीमा व्यवसायमा डिजिटल प्लेटफर्ममार्फत् बीमालेख बिक्रीको शुरुवात नौलो भए पनि अथाह सम्भावना देखेरै केही गरौं भन्ने उद्देश्यसहित श्रेष्ठ कम्पनीमा आबद्ध भएका हुन् ।
‘बीमा क्षेत्रमा नेपालकै पहिलो डिजिटल प्लेटफर्मका रुपमा हामी आएका हौं । अनलाइनबाटै बीमालेख बिक्रीलेख बिक्रीदेखि सबै काम गर्न सकिन्छ भन्ने विश्वास छ,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘राम्रोसँग बुझेरमात्रै बीमालेख खरिद गर्ने बानीको विकास गर्न र्ई–बीमा सहयोगी हुनेछ ।’
यद्यपि अनलाइनमा पूर्णरुपमा अभ्यस्त नभइसकेको हाम्रो समाजमा यो तत्कालै प्रभावकारी नभए पनि भविष्यमा यसको विकल्प नभएको उनको भनाइ छ ।
अभिकर्तासँग सहकार्य गर्दै अघिबढ्ने र नयाँ अभिकर्ता बन्न चाहनेका लागि पनि सुविधा उपलब्ध गराउने उनको भनाइ छ ।
के हो ई-बीमा ? कसरी किन्ने अनलाइनबाट बीमालेख ?
घरमै बसेर अनलाइनबाटै बीमालेख खरिद गर्न सक्ने प्लेटफर्म हो ई–बीमा डटकम । कम्पनीको वेवसाइटमा विभिन्न कम्पनीका विभिन्न बीमालेख उपलब्ध छन् । कम्पनीको वेवसाइट भिजिट गरेरै आफूलाई सुहाउँदो बीमालेख खरिद गर्न सकिन्छ । बीमालेख खरिद गर्न आवश्यक सबै प्रक्रिया अनलाइनबाटै पूरा गर्न सकिन्छ ।
ई-बीमा डटकममा बीमालेख खरिद गर्दा आफूले कति प्रिमियम तिर्नुपर्छ ? कुन कम्पनीको कुन बीमालेखमा कति बोनस पाइन्छ लगायतका सम्पूर्ण सबै जानकारी एउटै प्लेटफर्ममा उपलब्ध हुन्छ ।
बीमा अभिकर्ता र ईबीमामा के फरक छ ?
बीमा समितिले बीमाको दायरा अझ बिस्तार गर्नका लागि संस्थागत बीमा अभिकर्ताको लाइसेन्स दिने निर्णय गरेको थियो । बीमाको पहुँच बढाउनका लागि बीमा समितिले बीमा ऐन-२०४९ मोजिम ‘संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका-२०७८’ जारी गरेको थियो ।
संस्थागत बीमा अभिकर्तालाई लाइसेन्स दिन निर्देशिका नै बनाएपछि लामो समयदेखि बीमा क्षेत्रमा सक्रिय भएका बीमा अभिकर्ताहरु आफ्नो रोजीरोटी खोसिन लागेको भन्दै निर्देशिका खारेज गर्दै आन्दोलित समेत भएका थिए ।
संस्थाहरुलाई अभिकर्ताको लाइसेन्स दिँदा अभिकर्तालाई कुनै असर नपर्ने ई–बीमाका प्रबन्ध निर्देशक ज्ञवालीको तर्क छ । अभिकर्ता र ई-बीमा एक अर्काको परिपूरक रहेको ज्ञवालीको दाबी छ ।
‘बीमा व्यवसायलाई यो अवस्थामा ल्याउनका लागि अभिकर्ताको ठूलो योगदान छ,’ ज्ञवालीले भने, ‘हामी अभिकर्तासँग सहकार्य गरेरै अघि बढ्न चाहन्छौं । र, अहिले सहकार्य पनि भइरहेको छ ।’
अभिकर्ताहरु बीमाको मुख्य सम्बाहक भएको ज्ञवालीको भनाइ छ । उनले अहिलेकोे डिजिटल युगमा सहकार्य गरेरै अघि बढ्न आवश्यक रहेको समेत बताए ।
बीमा समितिबाट अभिकर्ताको इजाजतपत्र पाएका अभिकर्ताहरु ई-बीमाको प्लेटफर्ममा आबद्ध हुन सक्छन् । ई-बीमामा आवद्ध भएपछि सञ्चालनमा रहेका सबै जीवन बीमा कम्पनीको बीमालेख बिक्री गर्न पाउने सुविधा ई-बीमाले उपलब्ध गराएको छ ।
नेपाली बीमा क्षेत्रमा बीमालेख बिक्री गर्नुभन्दा पनि बीमालेख बिक्री गरिसकेपछिको समस्या मुख्य भएको ज्ञवालीको भनाइ छ ।
‘आफै सक्रिय भएर बीमा गरे पनि बीमा गरिसकेपछि बीमित विभिन्न कुरामा अनविज्ञ हुन्छन् । कहिले प्रिमियम तिर्ने, सरेण्डर भ्यालू कति, लोन कसरी लिने, पाइन्छ कि पाइदैन भन्ने अन्योलमा बीमित पर्ने गरेको हामीले पाएका छौं,’ उनले भने ।
तर, ई-बीमा डटकममा दर्ता हुने प्रत्येक अभिकर्ता तथा बीमितका लागि ड्यासबोर्ड उपलब्ध हुनेछ । जहाँ बीमितले आफ्नो बीमाको बारेमा सबै जानकारी सहजै लिन सक्छन् ।
ई-बीमामा आवद्ध हुने अभिकर्तालाई ई-बीमा डटकमले प्राविधिक सहयोग उपलब्ध गराउनेछ । यसका लागि अहिले अभिकर्ताहरुले शुल्क बुझाउनु पर्दैन ।
ई-बीमाको पहुँचबाट टाढा हुने मानिसका लागि अभिकर्ताले ई-बीमाको माध्यमबाट बीमा गर्ने प्रस्ताव राखी बीमालेख बिक्री गर्न सक्छन् । ई-बीमामा आवद्ध भएका अभिकर्ताले पोलिसी बिक्री गर्दा जति कमिसन पाउँछ त्यस बराबरको रकम ई-बीमाले पनि उपलब्ध गराउँछ ।
हालसम्म ई-बीमा कम्पनीमा हजारौं अभिकर्ता जोडिएका छन् भने हजारौंको संख्यामा जीवन बीमालेख र त्यत्तिकै संख्यामा निर्जीवन बीमालेख अनलाइनमार्फत् बीमालेख खरिद गरिसकेका छन् ।
ई-बीमा किन ?
बीमितले बीमा पोलिसी खरिद गर्न चाहेमा बजारमा लाखौंको संख्यामा बीमा अभिकर्ता भेट्छन् । अझ भनौं बीमा गर्न कर गर्दै अभिकर्ता नै बीमितका घर-घरमा पुग्छन् ।
त्यसरी बनाइएका बीमितहरुले कतिपय अवस्थामा पोलिसीलाई निरन्तरता दिन सक्दैनन् र बीचैमा सरेण्डरको बाटो रोज्छन् । बीमितहरुले अभिकर्ताबाट बीमाबारे आवश्यक यथेष्ठ जानकारी लिन नसक्ने समेत अवस्था हुन्छ ।
तर, बीमा गर्न इच्छुक व्यक्तिले ई-बीमाको वेवसाइटबाट बीमा योजनाका बारेमा बुझ्न सक्छन् । आफ्नो उमेर, आर्थिक अवस्थाका आधारमा व्यक्तिहरुले कम्पनीमा भएका पोलिसी तुलना गर्न सक्छन् ।
बीमामा विश्वास बेचिन्छन् । जसका लागि उपयुक्त माध्यम ई-बीमा डटकम हुने ज्ञवालीको भनाइ छ । हाल कम्पनीमा ३० जनाको व्यवसायीक टीम छ । हाल कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । आवश्यकता अनुसार पुँजी बढाउँदै लगिने प्रवन्ध निर्देशक ज्ञवाली बताउँछन् ।