अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा, ७% आर्थिक वृद्धिदरको लक्ष्य पुरा हुँदैन : पूर्वगभर्नर डा. नेपाल



काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालले पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको बताएका छन् ।

पूर्व गभर्नर डा. नेपालले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा मार्फत अर्थतन्त्र सन्तुलनमा राख्ने प्रयास गरे पनि विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा थप चुनौतीपूर्ण देखिएको बताए ।

डा. नेपालले न्युज एजेन्सीसँगको कुराकानीमा चालु आर्थिक वर्षको सुरुवातदेखि रेमिट्यान्स लगातार रुपमा घट्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा प्रभाव परेकाले अर्थतन्त्र थप चुनौतीपूर्ण स्थितिमा पुगेको बताए ।

उनले नेपाल राष्ट्र बैंकसँग मुलुकमा ६ महिनाको लागि मात्रै बस्तु आयात धान्न सक्ने सञ्चिति रहेको जानकारी दिए ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले इर्मजिङ अर्थतन्त्रको लागि ६ महिनाको आयात धान्न सक्ने विदेशी सञ्चिति हुने गर्ने बताएको उनको भनाइ छ ।

डा. नेपालले विदेशी मुद्रा सञ्चिति थ्रोस होल्डको मार्जिनमा नै आएकाले कुनै नितिगत सुधार समेत गर्न सक्ने अवस्था नभएको उल्लेख गरे । सरकारले अर्थतन्त्र सहज बनाउनको लागि तत्काल विदेशी सहयोग अनुदानको लागि पहल गर्नुपर्ने नेपालले बताए । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हुने लक्ष्य राखे पनि पूरा नहुने पूर्वगभर्नर नेपालले दाबी गरे । उनले अहिलकै अवस्थामा अर्थतन्त्र चल्ने हो भने राजस्व संकलनको लक्ष्य समेत पूरा नहुने बताए ।

‘मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले विदेशबाट बस्तु आयातमा गरिएको कडाइले केही राहत दिन सक्छ । तर कहिलेसम्म भन्ने हो । अब विदेशबाट लिने ऋण अनुदानको लागि सरकारले तरुन्त पहल गरेर, विदेशी अनुदानको लागि नीति तथा कानूनमा समेत परिमार्जन गरेर जानु आवश्यक छ’ उनले भने ‘अहिलेको अवस्थामा सरकारले राखेको आर्थिक वृद्धिदरको लक्ष्य पुरा हुँदैन । भन्नलाई जे भन्दिए पनि भयो । ७ प्रतिशत आर्थिक वृद्धिदर हुन गाह्रो छ । आयात बढी रहेको अवस्थामा आर्थिक वृद्धिदरको लक्ष्य पूरा हुँदैन । अझ राजश्व संकलन समेत घट्ने अवस्था देखिएको छ । धेरै बस्तु आयात गर्न राष्ट्र बैंकले रोकेको र नेपालमा आयात मुखी राजश्व भएकाले त्यो पनि घट्ने छ । सरकारले जुन १०५० अर्बको राजस्व संकलनको लक्ष्य राखेको छ । त्यो पूरा हुन गाह्रो छ ।’

डा. नेपालले सरकारले राजस्व संकलन गेरेर ढुकुटीमा थन्काउने तर खर्च नगर्ने प्रवृतिले बैंकहरुमा तरलता अभाव भएकोे उल्लेख गरे । उनले विश्वका कुनै पनि मुलुकमा सरकारले राजस्व उठाएर राष्ट्र बैंकमा थुपारेर राख्ने प्रचलन नभएको बताए । सरकारले यस्तो रकम केही बैंकसँग समन्वय गरेर रकम सञ्चालन गर्न दिएर राष्ट्र बैंकले नियमन गर्दा मात्रै बजारमा तरलता सहज हुने पूर्वगभर्नर नेपालले दाबी गरे । बैंकहरुबाट हुने कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लगाम लगाउन नसक्दा बजारमा तरलता अभाव भएको उनको भनाई छ ।

‘नेपाल राष्ट्र बैंकको सञ्चितिमा पैसा नभए पनि सरकारको ढुकुटीमा पैसा छ । सरकारले राजश्व उठाएर ढुकुटीमा राखेको पैसा छ । विश्वका कुनै पनि देशमा सरकारले राजस्वबाट उठाएको पैसा राष्ट्र बैंकमा थुपारेर राख्ने प्रचलन छैन । बरु सम्बन्धित बैंकलाई दिएर बैंकसँग समन्वय गरेर नीतिगत परिर्वतन गरेर केही समयको लागि पैसा सञ्चालन गर्न दिएर राष्ट्र बैंकले नियमन र सुपरिवेक्षण ग¥यो भने बजारमा संधै तरलता सहज र सम्मान रुपमा रहिरन्छ’ उनले भने ‘सरकारले दिएको राजस्वलाई विभिन्न सम्बिन्धित बैंकमा राखेर नियम ऐन अनुसार परिमार्जित गदै यति प्रतिशत भन्दा चलाउन नपाउने यो क्षेत्रमा मात्रै कर्जा दिन पाउने भनेर नीति बनायो भने सरकारको ढुकुटीमा पैसा हुने बजारमा पैसा नहुने हुँदैन । संसारमा कहि पनि छैन यस्तो । हाम्रोमा मात्रै हो । केही अफ्ठ्यारो पर्छ की भनेर राजस्व जम्मा गरेर राखि रहेका हुन्छौं । अर्को राष्ट्र बैंकले कर्जा विस्तारलाई लगाम लगाउन सकेन । कर्जा विस्तारमा लगाम लगाउन नसक्दा यो स्थिति आएको हो ।’

नेपालले नेपालल रुस र युक्रेनबीचको तनावले नेपालमा पट्रोलियम पदार्थ तथा खाने तेलको मूल्य अझै वृद्धि हुनसक्ने बताए । उनले पट्रोलियम पदार्थ तथा खाने तेलको सहज आपूर्तिको लागि समयमा नै आपूर्ति गरेर भण्डारण गर्न सरकारलाई सुझाव दिए ।

उनले सरकारले दुई देशबीचको तनाव कहिलेसम्म रहने निश्चित नभएकाले खानेतेल लगायत कच्चा पदार्थको आपूर्तिमा समस्या भएर अभाव हुन सक्ने बताए । रुस र युक्रेनबीचको तनावले पट्रोलियम पदार्थ तथा खाने तेल लगायत खाद्यान्नको समेत मुल्य बृद्धि हुने भएकाले सरकारले पट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउनु पर्ने नेपालले बताए । उनले सरकारले पट्रोलियम पदार्थको खपत घटाएर विद्युतिय खपतमा जोड दिनु पर्ने बताए ।

डा. नेपालले नेपालमा सामान्य भन्दा सामान्य वस्तु पनि विदेशबाट आयात गरिने त्यसको लागि विदेशी मुद्रा खर्च हुने गरेको बताए । उनले डलर खर्च गर्न डलर आउने स्रोत पनि रेमिट्यान्स ५ महिना देखि कम हुँदै गएकाले थप समस्या आउने बताए ।

चालु आर्थिक बर्षको सात महिनामा मात्रै करिब ४२ अर्ब ५२ करोडको ४० लाख भन्दा बढीको कच्चा सोयाविन आयात भएको छ । जसमा युक्रेनबाट ७९ करोड ४७ लाखको कच्चा सोयाविन आयात भएको छ । त्यस्तै अर्जेन्टिनाबाट सबै भन्दा बढी २७ अर्बको सायोविन आयात भएको छ । विभिन्न देशबाट ४२ अर्ब ५२ करोडको कच्चा पदार्थ आयात हुँदा १५ अर्ब ६३ करोड भन्दा बढीको सोयाविन तेल निर्यात भएको छ । त्यस्तै चालु आर्थिक बर्षमा १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको सनफ्लावर तेलको कच्चा पदार्थ आयात भएकोमा ९ अर्ब ५१ करोड बराबरको कच्चा पदार्थ युक्रेन बाट मात्रै आयात भएको छ ।


क्लिकमान्डु