ब्रेजा, भेन्यू र क्रेटालाई पछि पार्दै टाटा नेक्सन



काठमाडौं । सन् २०२२ को फेब्रुअरीमा टाटा नेक्सन शीर्ष स्थानमा पर्न सफल बनेको छ । टाटा नेक्सन भारतमा सर्वाधिक बिक्री भएको बताइएको छ । यसले हुन्डाई, किया र महिन्द्राका एसयुभीलाई पछि पार्दै शीर्ष स्थान ओगटेको कम्पनीले जनाएको छ ।

टाटा मोटर्सले गत जनवरीमा मात्रै हुन्डाई, किया र मारुती सुजुकीलाई पछाडी पार्दै आफू शीर्ष स्थानमा हुन सफल भएको थियो । टाटाले जनवरीमा १३ हजार ८१६ वटा नेक्सन बिक्री गरेको थियो । फेब्रुअरीमा भने कम्पनीले १२ हजार २५९ वटा नेक्सन गाडी बिक्री गरेको छ । यो भनेको गत वर्षको सोही महिनाको समग्र बिक्रीदरको तुलनामा ५४.६ प्रतिशतले बढी हो । टाटाले सन् २०२१ को फेब्रुअरीमा भने जम्मा ७ हजार ९२९ वटा नेक्सन बिक्री गरेको थियो ।

प्यासेन्जर कार सेग्मेन्टमा टाटा नेक्सन स्टाइल, प्रविधि, डिजाइन, विशेषता र अन्य सुविधाहरूका कारण निकै रुचाइएको एसयुभी हो । नेक्सनको बनावट र विशेषताहरू उत्कृष्ट हुनुका साथै यो सब–फोर मिटर सेग्मेन्टमा पावरफुल १.२ लिटर टर्बो इन्जिन जडित भएका कारण धेरैको रोजाइमा पर्न सफल छ । साथै, नेक्सन टाटा मोटर्सका निकै सुरक्षित कारहरु मध्ये पर्दछ ।

फेब्रुअरीको बिक्री तथ्यांकअनुसार नेक्सनपछि दोस्रो स्थानमा १० हजार २१२ वटा हुन्डाईको भेन्यू बिक्रि गरेर परेको छ। जुन भनेको गत वर्षको सोही महिनाको समग्र बिक्रीदरको तुलनामा ९ प्रतिशतले कम हो ।

यसबाहेक फेब्रुअरीमा सबैभन्दा धेरै बिक्री हुने एसयुभीमध्ये चौथो स्थानमा टाटा पन्च परेको छ। टाटाले गत फेब्रुअरीमा मात्रै ९ हजार ५९२ वटा पन्च बिक्री गरेको बताइएको छ ।

यसपछि पाँचौ स्थानमा परेको मारुती ब्रेजाले फेब्रुअरीमा ९ हजार २५६ वटा बिक्री गरेको छ । त्यस्तै, गत महिनामा मात्रै ६ हजार ५७५ वटा सेल्टस बिक्री गरेको किया सर्वाधिक बिक्री हुने सूचीको छैंटो स्थानमा परेको छ । सर्वाधिक बिक्री हुनेमध्ये सातौं स्थानमा कियाको सोनेट परेको छ। कियाको सोनेट ६ हजार १५४ वटा बिक्री भएको हो । सन् २०२१ को सोही महिनामा ७ हजार ९९७ वटा सोनेट बिक्री भएको तुलनामा यो २३ प्रतिशतले कम हो ।

त्यसैगरी, आठौं र नवौं स्थानमा महिन्द्राको थार र एक्सयुभी–३०० परेको छ। कम्पनीले ५ हजार ७२ वटा थार र ४ हजार ५११ वटा एक्सयुभी–३०० बिक्री गर्‍यो । सन् २०२१ को सोही महिनाको तुलनामा थारको बिक्रीदर ७८.४ प्रतिशतले बढेको हो भने एक्सयुभी–३०० को बिक्रीदर ४२ प्रतिशतले बढेको छ । फेब्रुअरीमा सर्वाधिक बिक्री हुने दश गाडीको अन्तिममा अर्थात् दशौं स्थानमा महिन्द्राको एक्सयुभी–७०० परेको छ । बिगतका केहि महिना लगातार टाटा मोटर्सले आफ्नो स्थान मजबूत गर्दै अन्य गाडीहरु पनि शिर्ष स्थानमा पुर्याउदै लगेको छ ।


क्लिकमान्डु