हाइड्रो एक्स्पो चैत्र तेस्रो साताः भारतीय बजार र लगानी बिस्तारमा टेवा पुग्ने



काठमाडौं । चैत्र तेस्रो साता राजधानीको भृकुटीमण्डपमा तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो–२०२२ आयोजना हुने भएको छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा चैत्र १८ देखि २० गतेसम्म उक्त एक्स्पो हुन लागेको हो । नेपालस्थित भारतीय राजदुतावासको समन्वय तथा बेलायती राजदुतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहने गरी एक्स्पो हुन लागेको हो ।

भारतीय राजदुतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका उर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बिचमा पारस्परिक सहकार्यमा समेत सहजता आउने इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । जलविद्युतको बजार बिस्तारका साथै भारतीय लगानीमा सहकार्यको अवसर एक्स्पोले उजागर गर्ने उनको भनाइ छ ।

नेपालमा जलविद्युत तथा ऊर्जा क्षेत्रमा अभूतपूर्व क्रियाकलापसंगै उर्जा उत्पादनको वर्तमान अवस्थालाई थप तिब्रता दिने, सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्यमा टेवा पुर्याउने लगायतका उद्देश्यसहित आयोजना हुने हिमालयन हाइड्रो एक्स्पो २०२२ ले ऊर्जा क्षेत्रमा एउटा फरक आयाम दिने आयोजकको अपेक्षा छ ।

हाइड्रो सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको पछिल्लो प्रविधिका बारेमा जानकारी गराउन, हाइड्रो सम्बन्धी सरोकार राख्नेहरुलाई एकै छानामूनि भेला पार्न तथा विभिन्न मुलुकसँग हाइड्रो विकासका सम्बन्धमा छलफल गर्ने उद्देश्यले एक्स्पो अयोजना गर्न लागिएको आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १०० भन्दा बढी स्टल रहने छन् । जलविद्युत प्रवद्र्धक, उत्पादक, इक्युप्मेन्टस् सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैंक, बिमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहने छन् । जसमा झण्डै ५० प्रतिशत विदेशी स्टल रहने आयोजकको भनाइ छ ।

यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोे पावर रोबोथन (हाइड्रोकर्न २.०), ब्याटल रोबोट्स तथा हाइड्रो पावरको लाइभ डेमोन्स्ट्रेशन विशेष आकर्षण बन्नेछन् । विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकन २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरुका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरुको प्रतिष्पर्धा एक्स्पोमा समावेश गरिनेछ ।

विद्युतीय सवारी साधनको र्याली पनि एक्स्पोको विशेष आकर्षण बन्ने मात्र नभई विद्युतीय सवारी साधनको बजारीकरण तथा सो को माध्यमबाट जलविद्युतको आन्तरिक बजार बिस्तारमा महत्वपूर्ण भूमिका खेल्ने इपानका उपाध्यक्ष आशिष गर्गले बताए । विद्युतीय सवारीका साथै विद्युतीय चुल्होको प्रयोगलाई विशेष जोड दिनु पर्ने बताउँदै उनले यसबाट जलविद्युतको आन्तरिक बजार बिस्तारमा महत्वपुर्ण योगदान पुग्ने जानकारी गराए ।


क्लिकमान्डु