सरकारले विद्यार्थीहरुलाई निःशुल्क इन्डक्सन चुल्हो दिने



काठमाडौं । सरकारले दुर्गमबाट अध्ययनका लागि काठमाडौं आएका विद्यार्थीहरुलाई निःशुल्क इन्डक्सन चुल्हो वितरण गर्ने भएको छ ।

वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रले विभिन्न दुर्गम जिल्लाबाट अध्ययनका सिलसिलामा काठमाडौं आएका विद्यार्थीहरुलाई इन्डक्सन चुल्हो वितरण गर्न लागेको हो ।

यसका लागि केन्द्रले दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यकामा आइ घरभाडामा लिइ सरकारी वा सामूदायिक शिक्षण संस्थामा स्नातक वा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई उपलब्ध गराउने छ ।

केन्द्रका सिनियर अफिसर कुन्दन पोखरेलका अनुसार अहिले आवेदन माग भइरहेको भन्दै आवेदनका आधारमा मात्रै कति वितरण गर्ने हो निश्चित हुने बताए ।

‘अहिले आवेदन माग गरिएको हो, यति नै बजेट भन्ने छैन,’ उनले भने, ‘विभिन्न स्रोतबाट बचत भएको रकमबाट आवेदनका आधारमा इन्डक्सन चुल्हो वितरण गरिन्छ ।’

पोखरेलले आवेदनपछि इन्डक्सन चुल्हो खरिदको प्रक्रिया शुरु गरिने र योग्य विद्यार्थीले ३ महिनापछि प्राप्त गर्ने जानकारी दिए ।
‘आवेदनको प्रक्रिया सकिएपछि सर्ट लिस्ट हुन्छ,’ उनले भने, ‘त्यसपछिको प्रक्रियामा टेन्डर आह्वान गरेर इन्डक्सन चुल्हो विद्यार्थीको हात पर्न ३ महिना लाग्न सक्छ ।’

उनले विद्यार्थीलाई सहयोग गर्न तथा उत्पादित विद्युतको स्वदेशमै खपत बढाउनका लागि इन्डक्सन चुल्हो वितरण गर्न लागिएको बताए ।

विद्यार्थीहरुका लागि एलपी ग्याँसको बढ्दो मूल्यको समस्यामा राहतको महशुस गराउन र विद्युतीय चुल्होको प्रबर्द्धन गर्नका लागि उपलब्ध गराउन लागिएको केन्द्रको भनाइ छ ।

यसका लागि आवेदन गर्नेले नागरिकता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित संस्थाको विद्यार्थी परिचय पत्र र सिफारिस पेश गर्नुपर्ने केन्द्रको भनाइ छ ।


क्लिकमान्डु