भारतले आयात खुल्ला गरेसँगै ७ महिनामै ३४ अर्बको पाम आयल निर्यात



काठमाडौं । भारत सरकारले पाम आयलको आयातमा खुल्ला गरेसँगै उच्च रुपमा निर्यात हुन थालेको छ ।

भारत सरकारले निर्यातित पाम आयलको गुणस्तरमा प्रश्न उठाउँदै आयातमा प्रतिबन्ध गरेको थियो । जसले गर्दा पाम आयल उच्च रुपमा निर्यात हुन सकेको थिएन । तर, अहिले भारत सरकारले आयात गर्न खुलेसँगै उच्च रुपमा नेपालबाट निर्यात गरेको छ ।

भारत सरकारले आर्थिक वर्ष २०७७ को पुस २३ गते आफ्नो मुलुकमा पाम आयलको आयातमा प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । उक्त अवधिमा नेपालबाट पाम आयल निर्यात हुन सकेको थिएन ।

तर, भारतले सरकारले करिब डेढ वर्षपछि गत असार १६ गतेबाट प्रतिबन्ध खुल्ला गरेसँगै नेपालबाट निर्यात उच्च हुन थालेको भन्सार विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

प्रतिबन्ध हुनुभन्दा अगाडि भारतमा उल्लेख्य रुपमा पाम आयल निर्यात हुँदै आएको थियो ।

नेपालको व्यापार घाटा घटाउन महत्वपूर्ण ठानिएको पाम आयलमा भारतले लगाएको प्रतिबन्ध गरेपछि अहिले भट्मासको तेलको निर्यात उच्च रहेको छ ।

नेपालले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालबाट ३४ अर्ब १५ करोड ५५ लाख रुपैयाँको १६ करोड ५५ लाख ४३ हजार लिटर पाम आयात निर्यात गरेको विभागको तथ्याङ्कले उल्लेख गर्दछ । गत वर्ष आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट मात्रै ९ लाख ८७ हजार रुपैयाँ बराबरको ६ हजार ६७ केजी मात्रै निर्यात भएको छ । जुन विगतको तुलनमा नगन्य जस्तै हो ।
नेपालमा पाम आयल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ नेपालमा पाइदैन । नेपालले विभिन्न मुलुकबाट आयात गरेर प्रशोधन गरी भारततर्फ निर्यात गर्दै आएको छ ।

नेपालले ७ महिनामा १ करोड ९० लाख रुपैयाँ बराबरको ९४ हजार ६९८ लिटर मात्रै पाम तेल आयात गरेको छ । उक्त पाम आयलको कच्चा पदार्थ नेपालले भारत, इन्डोनेसिया र मलेसियाबाट आयात गरेको देखाउँदछ ।

सात महिनाको अवधिमा नेपालले भारतबाट ८ लाखको ३ हजार २९८ लिटर, इन्डोनेसियाबाट ९२ लाख २७ हजारको ४५ हजार ३२० लिटर र मलेसियाबाट ९० लाख २३ हजार रुपैयाँको ४६ हजार ८० लिटर पाम तेल आयात गरेको भन्सार विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

भारतले तेस्रो मुलुकबाट आयात गरेर जस्ताको त्यस्तै पाम आयल निर्वाध रूपमा निकासी गर्न दिएको भन्दै नेपालसँग असन्तुष्टि जनाएको थियो । नेपालका उद्योगीले साफ्टा सम्झौताको फाइदा उठाउँदै चार वर्षअघि शून्य भन्सार महसुलमा पाम तेल भारततर्फ निकासी गर्न थालेका थिए ।

नेपालबाट साफ्टा अन्तर्गत पाम तेल निर्यात गर्दा भारतमा वस्तु तथा सेवा कर (जीएसटी)बापत १२ प्रतिशत तिर्नुपर्थ्यो । जीएसटीको उक्त रकम भारतीय क्रेताले तिर्ने हुँदा नेपाली व्यवसायी कर र शुल्कबाट पूर्णतः मुक्त थिए ।

यसले गर्दा उद्योगीहरू सहजै पामको निर्यात गर्दै आएका थिए । यस्तै पाम आयलको निर्यातमा प्रतिबन्ध लगाएसँगै उद्योगीहरूले अत्यधिक मात्रामा भट्मास तेलको निर्यात गरी हाल निर्यातित वस्तुमध्ये पहिलो नम्बरमा रहेको छ । हाल पनि भटमासको तेलको निर्यात उच्च छ ।


क्लिकमान्डु