सबै नेपाललाई निःशुल्क खानेपानी उपलब्ध गराउन लागिरहेको छुः खानेपानीमन्त्री चौधरी



काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानीको चुहावट नियन्त्रण गर्न र खानेपानीको महसुल बक्यौता उठाउन नेपाल खानेपानी संस्थानको व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिनु भएको छ ।

नेपाल खानेपानी संस्थानको वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री चौधरीले संस्थानले खानेपानीको बढ्दो मागलाई सम्वोधन गर्न सेवाक्षेत्र विस्तार गर्न निर्देशन दिए ।‘सरकारले शिक्षा र स्वास्थ्यमा आमनागरिकलाई निशुल्क गरे जस्तै खानेपानी सेवा पनि निःशुल्क गर्न मैले पहल गरिरहेको छु,’ मन्त्री चौधरीले भने, ‘संविधानले हरेक नेपालीलाई स्वच्छ र शुद्ध खानेपानीको पहूँचलाई मौलिक हकको रुपमा पत्याभूति गरेकाले ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयनमा ल्याइने छ ।’

हरेक नेपालीलाई निशुल्क खानेपानीको सेवा बिस्तार तत्काल सम्भव नभए पनि सरकारले न्यून शुल्कमा खानेपानी वितरण कार्य कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री चौधरीले खानेपानीको शुल्क निर्धारण आयोग केही दिनमै गठन गरिने जानकारी दिए ।

मन्त्री चौधरीले आयोगले खानेपानीको व्यवहारिक र सर्वसुलभ शुल्क निर्धारण गर्ने गरी सुझाव दिने विश्वास व्यक्त गरे । उनले संस्थानले मुलुकका २३ वटा नगर क्षेत्रमा मात्र सेवा दिइरहेको भन्दै बिस्तारका लागि निर्देशन दिए ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले खानेपानीको महसुल प्रत्येक २ वर्षमा पुनरावलोकन गर्न, विगतका सबै आर्थिक वर्षको लेखापरीक्षण गर्न, ४५ प्रतिशत खानेपानीको चुहावट घटाएर १५ प्रतिशतमा झार्न, पारदर्शी, मितव्ययी र उत्तरदायी भएर काम ग र्न कर्मचारीहरुलाई निर्देशन दिए ।


क्लिकमान्डु