यसरी सपथ खाए काठमाडौं महानगरका प्रमुख शाक्यसहित जनप्रतिनिधिले



काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

महानगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरुले बुधबार काठमाडौंको राष्ट्रिय सभा गृहमा विशेष समारोहकाबिच सपथ ग्रहण गरेका हुन् ।

मूख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले महानगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरुलाई सपथ ग्रहण गराएका हुन् ।

यस्तै, महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा सदस्यहरुलाई सपथ ग्रहण गराए । समारोहमा प्रमुख, उपप्रमुखलगायत १ सय ५९ जनप्रतिनिधिले सपथ ग्रहण गरेका छन् ।

प्रमुख र उपप्रमुख सपथपछि शहीद स्मारक, गणेशमान शान्ति बाटीका, मंगलादेवी, पार्क, पुष्पलाल स्मृति पार्क, मदन मण्डारीको शालिकमा माल्यर्पण तथा बसन्तपुर कुमारी घरमा अवलोकन गर्नेछन् र महानगरपालिकाको कार्यालय बागदरबारमा पुगेर पदभार ग्रहण गर्नेछन् ।

वडा अध्यक्ष र सदस्यहरुले सपथ ग्रहण लगत्तै सम्बन्धित वडा कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने छन् ।

काठमाडौं महानगरपालिकाको पहिलो बैठक प्रमुख र उपप्रमुखको सपथपछि बस्ने छ ।

सपथ कार्यक्रममा सांसद रामेश्वर फुँयाल र रामविर मानन्धर, महानगरपालिकाका पूर्व मेयर केशव स्थापित, महानगरपालिकाको मेयरका उमेद्वार साझा पार्टीका किशोर थापा, नयाँ शक्तिका पवित्र बज्राचार्य र विवेकशील नेपालीका रञ्जु दर्शनको उपस्थिति थियो ।

सपथ ग्रहणपछि बोल्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यसअघि प्रतिबद्धता गरेका विषयहरु पूरा गर्नेमा आफ्नो ध्यान केन्द्रित भएको बताए ।

साथै, महाभूकम्पले काठमाडौंका सांस्कृतिक धरोहरसँगै जिर्ण रहेका निजी भवनहरुको विषयमा आजको बैठकबाट सम्बोधन गरिने शाक्यले जानकारी दिए ।


क्लिकमान्डु