रुस र युक्रेन तनावः कच्चा तेलकाे मूल्य २०१४ यताकै उच्च



काठमाडौं । रुस र युक्रेनबीच बढ्दो तनावले विश्व बजारमा तेलको मूल्य आकासिन थालेको छ ।

विश्व बजारमा ब्रेन्ट ओइलको मूल्य प्रति ब्यारेल १०० डलर पुगेको छ । यो सन् २०१४ यताकै सबैभन्दा धेरै हो ।

रुस विश्वकै दोस्रो ठूलो तेल उत्पादक देश हो । रुस खासगरी युरोपमा क्रुड तेल र ग्यास सप्लाई गर्ने ठूलो देश हो ।

युरोपमा खपत हुने क्रुड तेल र ग्यासमध्ये ३५ प्रतिशत रुसले सप्लाइ गर्ने अन्तर्राष्ट्रिय माध्यमहरुले जनाएका छन् ।

विश्वले सैन्य कारवाही नगर्न भनिरहेको बेला रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि सैन्य कारवाही शुरु गरेको घोषणा गरिसकेका छन् । यसले तेल, ग्यासलगायतका अन्य वस्तुको मूल्य बढ्ने देखिन्छ ।

युक्रेनमा सैन्य आक्रमण गरेमा आर्थिक नाकाबन्दी गर्ने अमेरिकालगायतका पश्चिमा देशले भनिसकेका छन् ।

रसियामाथि आर्थिक नाकाबन्दी भएमा रुसले विश्व बजारमा सप्लाइ गर्ने कच्चा तेल र एलपी ग्यासको मूल्य युरोपलगायत विश्व बजारमा बढने विश्लेषण गरिएको छ ।

विश्व बजारमा उपभोग हुने तेलमध्ये १० मा १ ब्यारेल रुसले सप्लाई गर्छ । त्यसैले विश्व बजारमा तेलको व्यापारमा रुस मुख्य प्लेयरको रुपमा मानिन्छ ।


क्लिकमान्डु