युद्धविरामले लेबननलाई दिएन कुनै राहत

238
Shares

एजेन्सी । बुधबार बिहान सबेरै अमेरिका र इरानबीच युद्धविरामको घोषणा भए पनि लेबननमासथ इजरायलको आक्रमण जारी छ ।

लेबनानका लागि यो युद्ध विनाशकारी साबित भएको छ । जनसंख्याको करिब पाँचौं हिस्सा अर्थात् १२ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् र १५ सयभन्दा बढी मानिस मारिएका छन् ।

हिजबुल्लाहलाई पछाडि धकेल्नका लागि इजरायली अधिकारीहरूले सुरक्षा बफर जोन भनी नाम दिएको क्षेत्र सिर्जना गर्ने उद्देश्यले आक्रमणकारी इजरायली सेनाले सीमा नजिकका गाउँहरू ध्वस्त पारेका छन् । यसले युद्ध सकिएपछि पनि केही क्षेत्रहरू इजरायली कब्जामा रहन सक्ने र विस्थापित परिवारहरू कहिल्यै घर फर्कन नसक्ने डर पैदा गरेको छ ।

इजरायली अधिकारीहरूले इरानसँग सम्झौता भए पनि लेबननमा आफ्नो सैन्य अभियान जारी राख्ने मनसाय व्यक्त गरेका थिए ।
पर्यवेक्षकहरू र इजरायलका कतिपयले हिजबुल्लाहको क्षमतालाई लिएर आश्चर्य व्यक्त गरेका छन् । सन् २०२४ को नोभेम्बरमा समाप्त भएको पछिल्लो युद्धमा हिजबुल्लाह निकै कमजोर भएको व्यापक विश्वास गरिएको थियो ।

हिजबुल्लाहले बारम्बार उत्तरी इजरायलमा रकेट र ड्रोनहरू प्रहार गरिरहेको छ र दक्षिणी लेबननमा इजरायली सेनासँग भिडन्त गरिरहेको छ ।

लेबननभित्रै पनि हिजबुल्लाहले कडा आलोचनाको सामना गरिरहेको छ जहाँ धेरैले देशलाई नचाहँदो युद्धमा धकेलेको भन्दै यसलाई नै दोष दिन्छन् ।