तरलता अभाव हुँदा अन्तरबैंक ब्याजदर करिब ७% पुग्यो



काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव बढ्दै गएको छ । तरलता अभाव बढ्दै जाँदा अन्तरबैंक ब्याजदर ७ प्रतिशत नजिक पुगेको छ ।

बैंकमा तरलता अभाव बढेका कारण अन्तरबैंक ब्याजदर बढेको हो । राष्ट्र बैंकका अनुसार अहिले अन्तरबैंक ब्याजदर ५ प्रतिशतभन्दा निकै बढेको छ । फागुन ८ गते ६.९३ प्रतिशत रहेको अन्तरबैंक ब्याजदर फागुन ९ गते थोरै घटेर ६.८९ प्रतिशत छ ।

यो भनेको यो आर्थिक वर्षको नै उच्च हो । यसअघि ५ प्रतिशतभन्दा थोरै बढी हुने गरेकोमा अहिले अन्तरबैंक ब्याजदर करिब ७ प्रतिशतको हाराहारीमा पुगेको छ ।

यसअघि माघ २८ गते अन्तरबैंक ब्याजदर ५.०२ प्रतिशत रहेको थियो । त्यसपछि घटेर ५ प्रतिशतभन्दा तल रहेको अन्तरबैंक ब्याजदर करिब २ साता नपुग्दै बढेर ७ प्रतिशतको हाराहारीमा पुगेको छ । यसले पनि बैंकहरुमा तरलता संकट चुलिएको देखाउँछ ।

बैंकलाई पैसाको आवश्यक परेमा राष्ट्र बैंकमा गएर सापटी लिनुका साथै अन्तर बैंक कारोबार भइरहेको छ । बैंकहरुले आवश्यक परेको खण्डमा राष्ट्र बैंकलाई अनुरोध गर्ने, राष्ट्र बैंकले पैसा पठाउन समय लाग्ने भएकोले बैंकलाई आवश्यक पर्ने रकम अन्तर बैंकबाट तत्काल पैसा लिएको कारण अन्तर बैंक ब्याजदर ६.८९ प्रतिशत देखिएको छ ।

अति आवश्यक परेको खण्डमा बैंकहरुले यस्तो कारोबार गर्ने र आवश्यकता परिपूर्ती गर्ने गर्दै आएका छन् ।

राष्ट्र बैंकका अनुसार सोमबारसम्म वाणिज्य बैंकमा ४३ खर्ब १० अर्ब रुपैयाँ निक्षेप रहेको छ । आइतबारको तुलनामा १ अर्ब रुपैयाँले बढेको छ । आइतबार बैंकमा ४३ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप रहेको छ । एक दिनमा बैंकमा १ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।


क्लिकमान्डु