तरलता अभाव चर्किएपछि १९२ दिनदेखि लगातार अन्तरबैंक ब्याजदर ४% माथि



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउन तेस्रो सातासम्म न्यून रहेको अन्तर बैंक ब्याजदर तीन सातापछि एकाएक बढ्यो ।

साउनको १५ गतेसम्म १ प्रतिशतभन्दा कम रहेको अन्तर बैंक ब्याजदर १७ र १८ गते दुई दिन १ प्रतिशतभन्दा बढी पुग्यो । त्यसैगरी साउन १९ गतेदेखि २१ गतेसम्म १ प्रतिशतभन्दा तल झर्यो ।

तर, साउन २२ गतेदेखि बढ्न थालेको ब्याजदर माघ १० र १२ गते ५ प्रतिशत हुँदै २१ गते ५.०३ र माघ २८ गते ५.०२ प्रतिशतसम्म पुग्यो । पछिल्लो समय फागुनको ५ गतेसम्म आइपुग्दा ४.९७ प्रतिशत पुगेको छ ।

बैंकमा लगानीयोग्य रकम (तलता)को अभाव हुँदा एक बैंक र अर्को बैंकबीच हुने कारोबारमा लाग्ने ब्याजदर नै अन्तर बैंक ब्याजदर हो । तरलता अभाव बढ्दै जाँदा बैंकहरुबीच लाग्ने ब्याजदर पनि बढ्न थालेको छ ।

जब बैंकहरुलाई तत्कालै कुनै रकमको आवश्यक पर्छ त्योबेला अन्तरबैंक कारोबार गरेर आफूलाई आवश्यक परेको रकमको बन्दोबस्ती गर्ने गरेका छन् । जब बैंकको तरलता सहज हुने गर्छ । तब अन्तर बैंक ब्याजदर पनि घट्छ ।

अहिले तरलता अभाव भएपछि अन्तरबैंक ब्याजदर पनि ५ प्रतिशतको आसपासमा पुगेको छ ।

अन्तरबैंक ब्याजदर ५ प्रतिशत बढेपनि अवस्था भने गम्भीर नभएको राष्ट्र बैंकका सह-प्रवक्ता नारायणप्रसाद पौडेल बताउँछन् ।

साउनयता विभिन्न समयमा ७ पटक अन्तर बैंक ब्याजदर ५ प्रतिशत कटेको छ । तर, त्यो धेरै दिन भने टिक्न पाएन । एक दिनको लागि मात्रै ५ प्रतिशत कटेको तथ्याङकमा उल्लेख छ ।

कुनै समयमा अन्तरबैंक ब्याजदर ५ प्रतिशत पार गर्दा त्यसलाई रेगुलेसन उल्लंघन भएको भनेर भनेर भन्न नमिल्ने पौडेलको भनाइ छ । प्रणालीमा कुनै समयमा तरलता संकुचन हुँदा सापटी कारोबार बढेका कारण यस्तो ब्याजदर बढेको हो ।

‘बैंकहरुलाई तत्काल पैसाको आवश्यक परेको, बैंकहरुलाई राष्ट्र बैंकसम्म आउन पनि समय नभएको बेलामा ५.०२ प्रतिशत पुगेको हो,’ पौडेलले भने, ‘निरन्तर ५ प्रतिशतभन्दा माथि पुगेको छैन । एक दिनमात्रै पुगेको हो ।’

बैंकहरुले आवश्यक परेको खण्डमा राष्ट्र बैंकलाई अनुरोध गर्ने, राष्ट्र बैंकले पैसा पठाउन समय लाग्ने भएकोले बैंकलाई आवश्यक पर्ने रकम इन्टरबैंकबाट तत्काल पैसा लिएको कारण ५.०२ प्रतिशत देखिएको पौडेलको भनाइ छ । यसमा समय, आवश्यकताको आधारमा बैंकले यसरी अन्तरबैंक लोन लिन सकिने छ ।

अति आवश्यक परेको खण्डमा बैंकहरुले यस्तो कारोबार गर्ने र आवश्यकता परिपूर्ती गर्ने गर्दै आएका छन् । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि राष्ट्र बैंकले ३ खर्ब रुपैयाँभन्दा बढी प्रवाह गरिसकेको छ ।

अहिले नै यसलाई अस्वभाविक र असामान्य मान्न नमिलने उनको तर्क छ । यसलाई करिडोर पालना नभएको हो कि भनेर भन्न नमिल्ने उनको भनाइ छ । पौडेलका अनुसार करिब २ वर्षपछि अन्तरबैंक ब्याजदर ५ प्रतिशत कटेको हो ।

‘अन्तर बैंक ब्याजदर ५ प्रतिशत बढ्दा बैंकहरुले ०.०२ प्रतिशत बढी खर्च भएको छ,’ पौडेलले भने, ‘त्यो रकम किन खर्च गर्नु पर्छ र ? राष्ट्र बैंकले ओभरनाइट दिन्थ्यो, त्यसले काम चलाउन सकिने थियो । तर, त्यहाँसम्म नभ्याउने भएका कारण बैंकको त्यो लागत थपिएको हो । जसले गर्दा अन्तरबैंक ब्याजदर ५.०२ प्रतिशत पुगेको हो ।’

अब भने त्यस्तो ब्याजदर बढ्ने सम्भावना कम हुँदै गएको उनको भनाइ छ । बैंकका तरलता अभाव हुँदा यस्तो ब्याजदर बढ्ने र अधिक तरलता हुँदा घट्ने गरेको छ ।

यस्तो ब्याजदर राजस्व तिर्ने बेलामा पनि अभाव हुने गरेको छ । फलस्वरुप मंसिर २९ गते ५.०२ प्रतिशत रहेको थियो । त्यसपछि घटेर ५ प्रतिशतभन्दा कम रहेको छ ।

यस्तै चाडपर्वको समयमा पनि अन्तरबैंक ब्याजदर बढ्ने गरेको छ । असोज २५ गते अन्तर बैंक ब्याजदर ५.०४ प्रतिशत पुगेको थियो । अहिले भने ५ प्रतिशत भन्दा कम रहेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्याङकअनुसार फागुन ५ गतेसम्म अन्तरबैंक ब्याजदर ४.९७ प्रतिशत रहेको छ ।

एक वर्षका अवधिमा अन्तरबैंक कारोबारको ब्याजदर ३३ सय प्रतिशतले बढेको छ । ०७७ पुस मसान्तमा ०.१४ प्रतिशत रहेको अन्तरबैंक कारोबारको ब्याजदर यो पुस मसान्तमा ५ प्रतिशतभन्दा बढी छ ।


क्लिकमान्डु