सरकारी प्रक्रिया भन्दा बाहिरबाट कोरिया कामदार पठाउनु हुँदैन : श्रममन्त्री श्रेष्ठ



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग स्थानीय तहका प्रमुखहरूले मौसमी कामदार विदेश पठाउँदा हुने अवसर र चुनौतिबारे छलफल गरेका छन् ।

मन्त्रालयमा आज भएको छलफलमा स्थानीय तहका प्रमुखहरुले कोरियाका कम्पनीहरुले आफ्नो क्षेत्रका युवालाई मौसमी कामदारका रुपमा लैजान प्रस्ताव गरेको भन्दै त्यसको अवसर र चुनौतिबारे मन्त्री श्रेष्ठसँग चासो राखेका थिए । मन्त्री श्रेष्ठले सरकारी प्रक्रिया भन्दा बाहिरबाट सम्झौता गरी कोरिया कामदार पठाउन नहुने बताए ।

कोरियामा कामदार आपूर्तिबारे कोरिया र नेपाल सरकारबीच सरकारी स्तरको समझदारी भएकाले मन्त्री श्रेष्ठले मौसमी कामदार पठाउन पनि सरकारीस्तरबाट टुङ्गो लगाउनुपर्ने जिकिर गरे ।

साथै, उनले मौसमी कामदार पठाउँदा कामदारलाई भविष्यमा कुनै समस्यामा परे कोरिया सरकार जिम्मेवार नबन्ने हुनाले उद्दार र सहयोग गर्न असहज हुने बताए ।

दक्षिण कोरिया, जापान, क्यानडा सहित विभिन्न युरोपेली मुलुकका कम्पनीबाट पनि मौसमी कामदारको माग भएकोले त्यसबारे निर्णय लिन कार्यदलस्तरमा तयारी गरिने उनको भनाइ छ । हाल सरकारले वैदेशिक रोजगारीमा मौसमी रुपमा जान श्रम स्वीकृति दिने गरेको छैन ।

स्थानीय तहका प्रमुखहरुले भगिनी सम्वन्ध स्थापना गरी आफ्ना क्षेत्रका युवालाई कोरिया लगायत देशमा कसरी पठाउन सकिन्न भन्नेबारेमा छलफल छलफल गरेको थियो ।


क्लिकमान्डु