सवारी साधनको एलसी मार्जिन घटाउन राष्ट्र बैंकलाई नाडाको आग्रह



काठमााडौं । नेपाल अटो मोबाइल एशोसिएसन (नाडा)ले सवारी साधनको आयातमा एलसी मार्जिन घटाउन राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

नाडाले सवारी साधनलगायत अटोमोवाइल स्पेयर पार्टसहरूको आयातका लागि एलसी खोल्दा न्युनतम मार्जिनको सीमा ५ प्रतिशतबाट वृद्धि गरेर ५० देखि १०० प्रतिशतसम्म कायम गरिएकाले राष्ट्र बैंकलार्य मार्जिन घटाउन आग्रह गरेको हो ।

नाडाका अनुसार मार्जिनको व्यवस्थाले सवारी साधन लगायत स्पेयर पार्टसहरुको सहज आपूर्ति व्यवस्थामा समस्या भएको जनाएको छ । साथै, सवारी साधन तथा स्पेयर पार्टसहरूको मूल्य समेत बढन गई उपभोक्ताहरुलाई समेत असर पर्ने भएकोले पूर्व व्यवस्था अनुसारको न्युनतम मार्जिन कायम गर्न अनुरोध गरेको छ ।

नाडाले उक्त व्यवस्था तत्काल परिमार्जन गर्न सम्भव नभएमा व्यवसायीहरूले एलसी मार्जिनका लागि राखेको उक्त धरौटी रकममा बैंक तथा वित्तिय संस्थाहरूले व्याज प्रदान गर्न राष्ट्र बैंकबाट निर्देशन जारी गर्न माग गरेको छ ।

साथै, हालै नेपालका बैंक तथा वित्तिय निकायहरुले निक्षेपको व्याजदर बढाउने निर्णय गरेका छन् । निक्षेपको व्याजदर बढेसंगै बैंक तथा वित्तिय निकायहरूले स्वभाविक रुपमा कर्जाको व्याजदर बढाउने भएकोले यसमा पुर्नविचारका लागि राष्ट्र बैंकसँग अनुरोध गरेको छ ।

वित्तिय निकायहरुले व्याजदर बढाउदा कोरोना महामारीबाट भर्खर पुनरुत्थानतर्फ बढदै गरेको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई ठूलो मार पर्नेछ ।

उद्योग व्यवसायलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सरकारबाट सहयोगको अपेक्षा भइरहेको बर्तमान समयमा यस्तो नीतिले थप समस्या मात्र ल्याउने नभई बर्तमान तरलता समस्याको समाधान पनि नहुने निश्चित भएको नाडाका अध्यक्ष धु्रव थापा बताउँछन् । उनकाअनुसार नेपालको अर्थतन्त्रलाई नै थप जोखिममा पार्ने देखिएकोले कर्जाको व्याजदर बढाउने नीतिमा पुर्नविचारका गर्न राष्ट्र बैंकलाई अनुरोध गरेको छ ।


क्लिकमान्डु