बुढीगण्डकी, दूधकोशी, नलगाढजस्ता आयोजना मेरो प्राथमिकतामा छन् : मन्त्री भुसाल



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुढीगण्डी, दूधकोशी, नलगाढजस्ता आयोजनालाई आफूले प्राथमिकतामा राखेको बताएकी छिन् ।

मन्त्री भुसालले ऊर्जा क्षेत्रमा सन्तुलन कायम राख्नका लागि आफूले जलासययुक्त आयोजना प्रवद्र्धनलाई विशेष प्राथमिकता दिएको बताइन् ।
मन्त्रालयमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको भएको भेटवार्तामा यस्तो बताएकी हुन् ।

मन्त्रालयमा भएको भेटमा आपसी हित र चासोका विविध विषयमा छलफल भएको छ । भेटमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजिकबाट काम गरिरहने नेपाल सरकारको प्रतिवद्धता रहेको बताइन् ।

सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, इ-मोबिलिटी, न्यून कार्बन पूर्वाधार र इको-पर्यटनको प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले नेपालको नवीकरणीय ऊर्जा, वातावरण व्यवस्थापनमा बेलायत सरकार सहयोग रहेको उल्लेख गरिन् ।

महासागरहरूका पारिस्थितिक प्रणाली सन्तुलन राख्न र ग्योबल वार्मिङलाई नियन्त्रण गर्नका लागि हिमालयको महत्वपूर्ण भूमिका रहने स्मरण गराउँदै मन्त्री भुसालले भनिन् ‘हामी हिमालय क्षेत्रको संरक्षणका लागि अन्तराष्ट्रिय सहयोगको अपेक्षा गर्दछौँ ।’

जलविद्युत स्वच्छ ऊर्जा भएकाले यसको प्रवद्र्धनका लागि नेपाल सरकारले प्राथमिकता दिएको र ऊर्जा क्षेत्रको विकासमा मिश्रित ऊर्जा उत्पादनमा ध्यान दिएको जानकारी गराइन । बेलायत नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै मन्त्री भुसालले बेलायतले सङ्कट र प्रकोपको समयमा महत्वपूर्ण सहयोग गरेको स्मरण गरिन् ।

भेटमा राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि ऊर्जा मन्त्रालयका निकायसँगको सहकार्यलाई अझै विस्तार गर्ने बताइन्। उनले नवीकरणीय ऊर्जा उत्पादन तथा विद्युत व्यापारमा पनि सहजीकरण गर्न बेलायत सरकार तयार रहेको जानकारी गराइन् । उनले ऊर्जा क्षेत्रका निकायको संस्थागत सबलीकरणमा पनि सहयोग गरिरहेको स्मरण गराइन् ।


क्लिकमान्डु