याक एण्ड यति होटलको इजाजत खारेजीबारे हानकी अध्यक्ष र मन्त्री आलेबीच कुराकानी



काठमाडौं । होटल संघ नेपालका अध्यक्ष सृजना राणाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमन्त्री प्रेमबहादुर आले समक्ष पाँचतारे होटल याक एण्ड यतिको इजाजत खारेजीबारे गम्भीर ध्यानाकर्षण गराएकी छन् ।

अध्यक्ष राणाले यसबाट श्रमिक तथा कर्मचारीहरुको पारिश्रमिक तथा करार अन्तर्गत अग्रीम बुकिङ गरिएको सेवा सुविधा उपलब्ध गराउनलाई समस्या रहेको प्रष्ट पारिन् ।

राणाले पर्यटन उद्योगको प्रवर्द्धन, विकास तथा संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको होटल संघ नेपाल (हान)ले आफ्ना सदस्यहरुको पक्ष तथा हक अधिकारको पक्षमा वकालत गर्दै आएको जानकारी गराउँदै कुनै पनि व्यक्ति वा संस्थाले कानूनले निर्धारण गरेको राजस्व, कर तथा शुल्कहरु राज्यलाई बुझाउनुपर्ने कर्तव्यबाट विमुख हुन नहुने बताउँदै राज्यले तोकेको राजस्व तथा शुल्कको नियमसंगत हुने विषयमा समर्थन रहेको बताइन् ।

उनले एकातिर कोभिडको महामारीले पर्यटन व्यवसाय धरासायी भएको अवस्थामा पर्यटन व्यवसायमा देखिएका यस्ता खालका समस्याले नेपालमा पर्यटन क्षेत्रमा लगानीको वातावरण समेतमा सकारात्मकताको सञ्चार हुन नसकेको भन्दै मुलुकको कानून बमोजिम हुने राजस्व तथा अन्य राज्यले प्राप्त गर्ने शुल्कहरु नियम बमोजिम हुने नै हुँदा होटल सञ्चालनको निरन्तरताका लागि जोड दिइन् ।

उनले हानका सदस्य होटल याक एण्ड यति लगायत अन्य होटलहरुको सम्बन्धमा उठेका विषय र निर्णय समेतको बारेमा संघको धारणा राख्दै राज्यको कानून संगत नियम पालना गराउने मामलामा संघको सहयोग रहने तर होटलले राष्ट्रिय अर्थतन्त्र तथा रोजगारीमा पुर्याएको योगदान कदर गर्दै होटल जस्तो ठूलो लगानी भएको प्रतिष्ठानहरुले अर्थतन्त्रलाई पुर्याएको योगदानको कदर हुनुपर्ने पनि जोड दिइन् ।


क्लिकमान्डु