भयावह बन्दै अर्थतन्त्रको अवस्थाः देश भित्रिनेभन्दा बाहिरिने रकम २ खर्ब ४१ अर्बभन्दा धेरै



काठमाडौं । देशको अर्थतन्त्रको अवस्था निकै भयावह बन्दै गएको छ । देश भित्रिनेभन्दा देशबाट बाहिरिने रकम ऐतिहासिकरुपमा बढेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार प्रकाशित गरेको देशको वर्तमान आर्थिक अवस्था नामक प्रतिवेदन अनुसार ०७८ को पुस महिनासम्ममा देशको भुक्तानी सन्तुलन अर्थात् शोधनान्तर घाटा २ खर्ब ४१ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च हो ।

उच्च आयात र कमजोर निर्यातका कारण देशको भुक्तानी सन्तुलत अहिलेसम्मकै उच्च ऋणात्मक भएको हो ।

गत वर्षको पुस महिनामा देशको भुक्तानी सन्तुलन १ खर्ब २४ अर्ब ९२ करोड रुपैयाँले बचतमा थियो ।

०७८ पुसमा ३ खर्ब ५४ अर्ब ७ करोडले घाटामा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता ५१ अर्ब ६८ करोडले घाटामा थियो । अमेरिकी डलरमा गत वर्षको सोही अवधिमा ४४ करोड ८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ९७ करोडले घाटामा रहेको छ ।

०७८ पुसमा अवधिमा पुँजीगत ट्रान्सफर २०.० प्रतिशतले कमी आई ५ अर्ब ४८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४८.१ प्रतिशतले वृद्धि भई ११ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ८५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ६६ करोड रुपैयाँ थियो


क्लिकमान्डु