नारायणहिटी दरबार संग्राहलयका जीर्ण संरचना मर्मत गर्न पर्यटनमन्त्री आलेको निर्देशन



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जीर्ण भएका संरचनाहरुलाई मर्मत सम्भार गर्न निर्देशन दिए ।

बिहीबार मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा स्थलगत अवलोकन गर्दै संग्रहालय परिरसमा जीर्ण अवस्थामा रहेका संरचनाहरुको मर्मत सम्भार गर्न निर्देशन दिएका हुन् ।

संग्रहालय अवलोकनपछि न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री आलेले संग्रहालय भित्रका विभिन्न ठाउँमा बत्तिहरु जीर्ण अवस्थामा देखिएकाले तुरुन्त मर्मत गरी सूचारु गर्न निर्देशन दिएको बताए ।

त्यसैगरी गेटको बाहिर छाना छुहिने अवस्था रहेकाले त्यसको पनि मर्मत गर्न भनिएको उनले बताए ।

त्यस्तै, संग्रहालयमा रहेका पुराना गाडीहरुलाई मर्मतका साथसाथै रङरोग गरेर राख्न पनि निर्देशन दिइएको उनले बताए ।

उनले नारायणहिटी दरबार संग्रहालयमा अधुरा रहेका कामहरुलाई सम्पन्न गर्नका लागि छुट्टै डिपिआर बनाउन पनि निर्देशन समेत दिएका छन् ।

उनले विगतमा संग्रहालय परिसरभित्र क्याफ्टेरिया सञ्चालन गर्न भनि १४ रोपनी अतिक्रमण गरी बनाइएको भौतिक संरचनाहरु भत्काइसकिएको बताए । संग्रहालय परिसरलाई व्यवस्थित गर्नका लागि आगामी आर्थिक वर्षमा बजेटको व्यवस्थापन गरिने पनि उनले बताए ।

बतास समूहलाई नारायणहिटी दरबार संग्रहालयबाट हटाउन र आवश्यक अनुसन्धान गर्न सम्बन्धित निकायलाई पत्राचार पनि भइसकेको उनले बताए ।


क्लिकमान्डु