ठूला कारोबार गर्नेमाथि निगरानी बढाउँदै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुलाई पत्र लेख्दै चालु आवको ६ महिनामा ७ लाखभन्दा बढी नगद कारोबार भएका प्रत्येकको विस्तृत विवरण माग गरेको छ ।

वाणिज्य बैंकहरुलाई पत्र लेख्दै राष्ट्र बैंक सम्पत्ति शुद्धिकरण अनुगमन इकाइले २०७८ साउन १ गतेदेखि पुस ३० गतेसम्म बैंकमा ७ लाखभन्दा बढी नगद कारोबारको विवरण माग गरेको हो ।

जसमा राष्ट्र बैंकले खातावालाको नाम, अकाउन्ट नम्बर, कारोबार रकम, झिकेको वा जम्मा गरेकोलगायतका विवरण माग गरिएको छ ।

‘यस विभागको सम्पत्ति शुद्धिकरण अनुगमन इकाइले त्यस बैंकको सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको निवारणको अवस्थाका विषयमा स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण गर्दै आएको विदितै छ । सोही सन्दर्भमा त्यस बैंकबाट २०७८ साउन १ गतेदेखि पुस ३० गतेसम्म प्रति कारोबार ७ लाख रुपैयाँभन्दा बढी नगदमा भएका कारोबारहरुको तोकिएको ढाँचामा विभागको इमेलमा माघ २४ गतेभित्र उपलब्ध गराइदिनु,’ राष्ट्र बैंकले वाणिज्य बैंकलाई लेखेको पत्रमा भनिएको छ ।


क्लिकमान्डु