प्रभावकारी बन्दै अनलाइन श्रम स्वीकृतिः दैनिक १ हजार बढीले सेवा लिँदै



काठमाडौं । वैदेशिक रोजगार कार्यालय, काठमाडौंले हालै शुरु गरेको अनलाइन श्रम स्वीकृति प्रभावकारी बनेको छ ।

दैनिक एकहजारको हाराहारीमा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति लिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए ।

कोरोना संक्रमण जोखिमको बेला अनलाइन श्रम स्वीकृति प्रभावकारी बनेको कार्यालय प्रमुख अर्यालले बताए ।

यसअघि एक हजार बढी सेवाग्राहीको भौतिक उपस्थितिमा सेवाप्रवाह गर्दा विभिन्न गुनासो आउने गरेको र कर्मचारीले समेत रातिसम्म काम गर्नुपर्ने बाध्यता अहिले हटेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम स्वीकृतिलाई पेपरलेस बनाउन निर्देशन दिएसँगै छिटो, छरितो र पारदर्शी र गुनासो रहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृतिको काम सुरु भएको थियो ।

अनलाइनमा कागजातहरु जाँच गर्न समय लाग्ने तथा कहिलेकाही इन्टरनेट सर्भरको समस्या हुनसक्ने भएकाले तीन दिनअघि अनलाइन फाराम भर्न कार्यालयले भनेको छ ।

अनलाइन प्रणालीमा समय बढी लाग्ने र खर्चिलो हुने तथा इपासपोर्टसँग म्याचिङ नहुने भनि अफवाह फैलाइएको भन्दै कार्यालयले सेवाग्राहीले विवरण सही भरेमा सोही दिन नै श्रम स्वीकृति दिने गरिएको जनाएको छ ।

पुनः श्रम स्वीकृतिको लागि म्यादी जीवन विमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत् भुक्तानी गर्नुपर्ने हुन्छ ।

म्यादी जीवन वीमाको शुल्क उमेर अनुसार हुने र वैदेशिक रोजगार कल्याणकारी कोषको लागि १ हजार ५ सय रुँपैया शुल्क लाग्ने कार्यालयका सूचना अधिकारी हरिराम नागिलाले बताए ।

जीवन बीमा र कल्याणकारी कोष समेत गरी ३५ वर्षसम्मका लागि ५ हजार २ सय ८ रुँपैया, ३६ वर्ष देखि ५० वर्षसम्मका लागि ६ हजार ४ सय ३१ रुँपैया र ५१ वर्ष देखि माथिका लागि १० हजार ९ सय ६३ रुपैया मात्र शुल्क लाग्छ ।

यदि घरमा नभरेर अन्यत्र अनलाइन फाराम भर्नुपरेमा आफूलाई लाग्ने शुल्कको बारेमा पूर्ण जानकारी राखी नठगिन कार्यालयले सबै सेवाग्राहीलाई आग्रह गरेको छ ।


क्लिकमान्डु