इन्टरनेट प्रदायकसँग एक करोड असुली
चितवन । विजुलीका खम्बा प्रयोग गरेवापत भाडा तिर्न अटेर गरेका इन्टरनेट प्रदायकसँग झण्डै १ करोड रुपैयाँ असुल गरिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले कडाइ गरेसँगै साउनयता ९६ लाख ८४ हजार ९७ रुपैयाँ भाडा असुली गरेको हो ।
जिल्लाका केवल टिभी तथा इन्टरनेट प्रदायक संस्थाबाट सो रकम असुल गरिएको हो । केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेलका अनुसार भदौ महिनाबाट भाडा उठाउन थालिएको हो । केन्द्रको कार्यक्षेत्रका १४ वटा कम्पनीले खम्बा प्रयोग गरेबापत सो रकम बुझाएका हुन् ।
केही कम्पनीले आफ्नो नाम नखुलाई भाडा तिरेका छन् भने १२ वटा कम्पनीले नाम खुलाएर तिरेका हुन् ।
भाडा तिर्नेमा चित्रवन युनिक केवलले ३० लाख ५५ हजार ६८ रुपैयाँ, कनेक्ट नेपालले १ लाख ७७ हजार ९७५ रुपैयाँ, त्रिवेणी केवल नेटवर्कले १ लाख ९३ हजार ८०० रुपैयाँ, प्राइम नेटवर्कले २ लाख ३ हजार ४०० रुपैयाँ, फाइवर वर्ल्ड कम्युनिकेसन प्रालिले १ लाख २२ हजार ४० रुपैयाँ, ब्रोडलिङकले १ लाख १ हजार ७०० रुपैयाँ र वेबसफरले ३ लाख पाँच हजार १०० रुपैयाँ भाडा तिरेका छन् ।
यसैगरी डिसहोमले ६ लाख ६१ हजार ५० रुपैयाँ, पीडी एस सर्भर नेटवर्कले २५ हजार ४२५ रुपैयाँ, सुविसु नेटवर्कले २२ लाख २४ हजार ६६ रुपैयाँ, टेकमाइन्स कम्युनिकेसनले २० लाख रुपैयाँ र एन्जियटा एन सेलले ८५ हजार ४२८ रुपैयाँ रकम बुझाएका छन् ।
बाँकी दुई वटा कम्पनीले नाम नखुलाई १ लाख ११ हजार ४८७ रुपैयाँ र चार लाख १७ हजार ५४० रुपैयाँ बुझाएको उनले जानकारी दिए ।
‘अझै चार वटा कम्पनीले भाडा तिर्न बाँकी छ,’ उनले भने, ‘तिर्न बाँकी रहेका कम्पनीमा वर्ल्डलिंक, भायोनेट, सिम टिभी र क्लासिटेक छन् ।’
वर्ल्डलिङ्कले आर्थिक वर्ष २०७४÷७५ देखिको खम्बा प्रयोग गरेबापतको ६१ लाख रुपैयाँ, भायो नेटले ३० लाख रुपैयाँ, सिम टिभीले ३० लाख रुपैयाँ र क्लासिटेकले २१ लाख ७६ हजार रुपैयाँ बुझाउन बाँकी छ ।
महसुल नतिर्ने कम्पनीले भाडा नतिरेमा लाइन काट्न र खम्बामा राखिएको उपकरण जफत गर्न विद्युत् प्राधिकरणसँग छलफल भइरहेको उनको भनाइ छ ।
केन्द्रले भाडा नतिर्ने कम्पनीको लाइन काट्ने र उपकरण जफत गर्ने कामसमेत गरेको थियो । केन्द्रले कडाइ गरेपछि इन्टरनेट प्रदायक संस्थाले आन्दोलन गर्दै सेवा अवरुद्ध गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयमा सहमति भएपछि सेवा थालिएको थियो । त्यस लगत्तै अन्य कम्पनीले भाडा बुझाए पनि चारवटाले अटेर गरेको पौडेलको भनाइ छ ।