माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणको दर बढेसँगै आइतवार कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र(सीसीएमसीसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई दिएको सिफारिस अनुसार विद्यालय बन्द गर्न लागिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले माघ १५ गतेसम्म देशभरका सबै आधारभुत र माध्यामिक विद्यालय बन्द गर्नका लागि मन्त्रालयले सूचना जारी गर्ने बताए ।

उनले विदाको अवधिमा पनि सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालयहरुले अनलाइन माध्यमबाट पठन पाठन जारी राख्नुपर्ने पनि बताए ।

मन्त्रालयका प्रवक्ता शर्माले विद्यालय बन्द भएको बेलामा सबै विद्यालयहरुले १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई खोपको प्रवन्ध गरिने पनि बताए ।

विद्यालय बन्द भएको बेलामा खोपलाई अभियानको रुपमा सञ्चालन गरिने उनको भनाइ छ ।


क्लिकमान्डु