मानुङकोटमा बतास समूहले लगानी गर्ने निर्णय भएको छैनः नगरप्रमुख न्यौपाने



तनहुँ । व्यासनगरपालिका–५ स्थित मानुङकोट डाँडामा बताससँग सम्बन्धित कम्पनीले लगानी गर्ने विषय चर्चामा आएपनि त्यसबारेमा कुनै निर्णय नभएको नगरपालिकाले स्पष्ट पारेको छ ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले यस विषयमा कुनै निर्णय नगरेको जानकारी दिए । नगरपालिकाले निजी साझेदारी अवधारणाअनुरुप विभिन्न किसिमका संस्था तथा व्यक्तिसँग लगानी, विकास र यसका सम्भावना चयन गर्ने गरी काम गर्ने सम्बन्धमा गतवर्ष नै निर्णय भएको तर यही कम्पनीलाई दिने भन्ने निर्णय नभएको उनले बताए ।

नगरपालिकाले छ महिनाभित्र प्रस्ताव पेश गर्न लगानीकर्तालाई आग्रह मात्रै गरेको हो ।

‘मानुङकोटको पूर्वपट्टीको जग्गा व्यास हिल्सले खरिद गर्न पहल मात्रै गरेको हो,’ उनले भने । उक्त जग्गाका लागि ४ अर्ब रुपैयाँ प्रस्ताव पेश गरेको बताउँदै नगरपालिकाको तर्फबाट के कति दिने भन्नेबारे कुनै घोषणा र निर्णय नगरिएको उनले बताए ।

योजना आयोगका पूर्व उपाध्यक्ष, कम्पनी ऐनका विशेषज्ञ सहितको टोली खटाएर अहिले मानुङ क्षेत्रको अध्ययन गरिरहेको नगरपालिकाले जनाएको छ ।

ओइलेनी जग्गा नेपाल सरकारको स्वीकृतिबिना नगरपालिकाले मात्रै दिन नमिल्ने हुँदा अध्ययन गरेर नगरपालिकाको हित कसरी हुन्छ त्यसको बारेमा अध्ययन गर्ने कार्य भइरहेको नगरप्रमुख न्यौपानेले बताए ।

सम्बन्धित लगानीकर्तालाई प्रस्ताव पेश गर्न अनुरोध गरिएको छ । उक्त प्रस्ताव प्रस्तुत गर्ने अवसरमा पत्रकार, सरोकारवाला निकाय सबैलाई बोलाएर सार्वजनिक गराइने छ ।

‘यस विषयमा नगरपालिकाको कुन कम्पनी या व्यक्तिलाई दिने भन्ने बारेमा कुनै निर्णय भएको छैन्,’ उनले भने ।

यदि कानूनले बाधा पुग्दैन भने मानुङको विकास परियोजनामा लगानीकर्ताका रुपमा व्यास हिल्सले उक्त स्थानको वातावरण अध्ययन गर्ने कार्य गरिरहेको हुँदा उक्त कम्पनीले लगानी गर्न सक्ने उनको भनाइ छ ।


क्लिकमान्डु