बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा उद्योगीले काम गर्न सकेनन्ः महासंघ उपाध्यक्ष श्रेष्ठ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समय वित्तिय प्रणालीमा देखिएको तरलता अभावले उद्योगीहरुले कामै गर्न नसक्ने अवस्था सिर्जना भएको बताएका छन् ।

उपाध्यक्ष श्रेष्ठले वित्तीय प्रणालीमा देखिएको तरलता अभावले उद्योगी व्यवसायीहरुले कामै गर्न नसक्ने अवस्था सिर्जना भएको बताए । उनले तरलता अभावका कारण उत्पादन लागत उच्चरुपमा बढेको बताए ।

श्रेष्ठले लागत खर्च बढ्दा बजारमा मूलय वृद्धि समेत बढ्ने भन्दै अहिले बैंकहरुले विगतमा उद्यागीहरुलाई दिइरहेको कर्जा बराबरको पैसा दिन समेत नसक्ने अवस्था रहेको बताए । उनले नेपाली व्यवसायीलाई विश्वास गरेर अन्य देशबाट उधारोमा सामान पठाउने गरे पनि भन्सारमा समस्या रहेको समेत बताए ।

‘पछिल्लो समय बैंकहरु २/४ अर्ब पैसा भए कहाँ राखौं हुने र २/४ अर्ब नभए कहाँबाट ल्याउँ भन्ने अवस्थामा पुगेका छन्,’ उनले भने ।

उपाध्यक्ष श्रेष्ठले बजारमा तरलता चरम अभाव रहेको अवस्थामा राष्ट्र बैंकले व्यवसायीलाई समस्या पर्ने गरी सामान आयातमा कडाइ गरी शतप्रतिशत बैंकमा मार्जिन राख्नु पर्ने व्यवस्था गर्नु गलत भएको बताए ।

‘विदेशबाट कच्चा पदार्थ आयात गर्दा व्यवसासीलाई शतप्रतिशत पैसा बैंकमा जम्मा गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । यस्तो तरलता चरम अभावको अवस्थामा उद्योगीले कहाँबाट पैसा ल्याउने ?,’ उनले भने ।

उनले सरकारले पुँजीगत खर्च गर्न सकेमा मात्रै आर्थिक वृद्धिको लक्ष्य पूरा हुने भन्दै अहिलेको अवस्था रहे लक्ष्यप्राप्तिमा कठीन हुने बताए । उपाध्यक्ष श्रेष्ठले बजेट खर्च समयमै नभए ५ प्रतिशतको आर्थिक वृद्धि पनि हासिल नहुने बताए ।


क्लिकमान्डु