निजगढ विमानस्थलकाे निर्माण शुरु गर्न गठबन्धनका दल सहमत, मुआब्जाका लागि १० अर्ब आवश्यक



काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई समयमै सम्पन्न गर्नका लागि सत्तारुढ गठबन्धनका नेताहरुले जोड दिएका छन् ।

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा भएको छलफलमा नेताहरुले विमानस्थल निर्माणको काम छिटो शुरु गर्नुपर्ने बताएको पर्यटनमन्त्री प्रेम आलेले जानकारी दिए ।

मन्त्री आलेले विमानस्थल निर्माणका लागि विभिन्न मोडलको सम्बन्धमा गृहकार्य भइरहेको पनि बताए ।

उनले विमानस्थल निर्माणका लागि सरकारकै बजेट अथवा दातृ निकायको बजेटले बनाउने भन्ने सम्बन्धमा गृहकार्य गरिने पनि जानकारी दिए ।

मन्त्री आलेले विमानस्थल निर्माणका लागि बस्ती अधिग्रहण गर्नका लागि १० अर्ब मुआब्जा वितरण गर्नुपर्ने आवश्यकता रहेको भन्दै सोको लागि पनि बजेट व्यवस्थापन गर्नुपर्ने बताए ।

‘अब काठमाडौंको विमानस्थलले मात्रै एयर ट्राफिक धान्न सक्दैन, यसको विकल्पका रुपमा निजगढ विमानस्थलको निर्माण छिटो शुरु गर्नुको विकल्प छैन,’ उनले भने ।

उनले यसका लागि मास्टर प्लान पनि तयार भएको भन्दै छिट्टै अवलोकन गरेर त्यहाँ रहेको टांगिया बस्तीलाई अन्यत्र सार्नका लागि ९ अर्ब रुपैयाँदेखि १० अर्ब रुपैयाँ मुआब्जाका लागि बजेट व्यवस्थापन गरिने बताए ।

‘विमानस्थल निर्माणमा सबै दलको सहमति छ, सरकारको बजेट वा दातृ निकायको सहयोग जुन मोडलबाट हुन्छ काम शुरु गर्छौ,’ उनले भने ।


क्लिकमान्डु