आर्थिक नियमावलीमा सुनचाँदीका मुद्दा समावेश गर्न ब्यवसायीको आग्रह



काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले आर्थिक नियमावलीमा सुनचाँदीका मुद्दा समावेश गर्न सरकारसँग आग्रह गरेको छ ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यले आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेटगरी ब्यवसायीका समस्या समाधानगर्न आग्रह गरेका छन् ।

भेटमा ब्यवसायीका तीन वटा माग राखेका छन् । त्यसमध्ये पहिलोमा जर्तिको मापदण्डमा एकरुपता कायम गर्दै १० प्रतिशत गर्नुपर्ने छ । हाल जर्ति सम्बन्धी ठोस ब्यवस्था नहुँदा फरक–फरक दर कायम हुँदै आएको छ ।

यस्तै ब्यवसायीले सुनचाँदी जस्तो बहुमुल्य धातुको कारोवारमा नगद करोबारको सिमा ५० हजारबाट बढाएर १० लाख पुर्याउनुपर्ने माग गरेको छन् । ब्यवसायीले अगाडि सारेको तेस्रो मागमा लेखापरीक्षण सम्बन्धी ब्यवस्थमा एकरुपमा हुनुपर्ने रहेको छ ।

ब्यवसायीसँगको भेटका क्रममा विभागका महानिर्देशक पौडेलले ब्यवसायीले उठाएका मागहरुलाई अध्ययन गरी सम्वोधन गर्न पहल गर्ने आश्वासन दिए । ‘ब्यवसायीका समस्या साधानगर्न विभागले सदैव सहयोग गर्दै आइरहेको छ’ उनले भने ‘अब पनि के गर्न सकिन्छ त्यो अध्ययनगरी हामी आवश्यक निर्णय लिन्छौं ।’

त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले प्रष्ट कानूनी ब्यवस्थाको अभावमा बजारमा ब्यवसायीबीच दुविधा उत्पन्न नहोस र जर्ति जस्तो बिषयमा ब्यवसायीले आफूखुशी सिमा निर्धारण गर्दा एउटै सामानको पसलपिच्छे फरक फरक मुल्य कायम नहोस भन्ने उद्देश्यले आर्थिक नियमावलीमार्फत यसलाई समेट्न आग्रह गरे ।


क्लिकमान्डु