लगानी बोर्डमा इन्भेष्टर्स लाउञ्ज स्थापना



काठमाडौं । अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्माले लगानी बोर्डको कार्यालयमा इन्भेष्टर्स लाउञ्ज (लगानीकर्ता कक्ष)को आज उद्घाटन गरेका छन् ।

उक्त कक्षमा नेपालमा लगानीका सम्भावना, लगानीका क्षेत्रहरु, परियोजना बैंकमा समावेश भएका परियोजनाहरु बारेको विवरण साथै लगानीकर्ताका लागि आवश्यक अनलाइन सेवाहरु उपलव्ध हुनेछन् ।

उद्घाटन गर्दै मन्त्री शर्माले नेपालमा लगानीको वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताउँदै कानूनले भ्याएसम्मका सुविधाहरु दिन सरकार तयार भएकाले निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन् ।

उनले नेपालमा लगानीका प्रचुर सम्भावना रहेको उल्लेख गर्दै विकासकर्ताले जति सक्दो चाँडो परियोजना सम्पन्न गर्न समेत आग्रह गरेका छन् ।

परियोजना कार्यान्वयनमा देखिएका समस्याहरुबारे सरकारलाई लगानीकर्ताहरुले समयमै जानकारी गराउन आग्रह गर्दै मन्त्री शर्माले लगानीकर्ता कक्षले लगानीकर्ताका लागि आवश्यक सबै सूचनाहरु उपलब्ध गराएर नेपालमा लगानीका हरेक पक्षबारे अद्यावधिक जानकारी गराउने र कक्षको सुविधा तथा क्षमता बिस्तार गर्दै लगिने उल्लेख गरे ।

उक्त अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानीकर्तालाई नेपालमा लगानीका अवसरहरूबारे जानकारी दिने तथा सहजीकरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले लगानीकर्ता कक्ष स्थापना भएको बताउँदै यसलाई चाडै नै एकल विन्दु सेवासँग आवद्ध गरिने जानकारी गराए ।

उनले लगानीकर्ताको सेवालाई केन्द्रित गरी लगानी बोर्डले अगाडि बढाएका गतिविधिहरूमध्ये लगानीकर्ता कक्षको स्थापना पनि रहेको उल्लेख गर्दै यसको शुभारम्भ लगानी बोर्डको १०औं वार्षिकोत्सव कार्यक्रमको एक हिस्साको रूपमा समेत रहेको बताए ।

उनले लगानी बोर्ड र विकासकर्ताहरुबीच अन्तरकृयालाई निरन्तरता दिइने बताए । उद्घाटन कार्यक्रममा लगानी बोर्डले सहजीकरण गरिरहेका परियोजना विकासकर्ताका प्रतिनिधिहरुले परियोजना कार्यान्वयनको अवस्था र लगानी बोर्डले गरिदिनु पर्ने सहजीकरणका विषयमा जानकारी गराएका थिए ।


क्लिकमान्डु