जनशक्तिको अभावले बजेट खर्च गर्नै सकेनौंः कृषि मन्त्री यादव



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले जनशक्तिको अभावका कारण बजेट खर्च गर्न नसकेको बताएका छन् ।

अर्थ समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले मन्त्रालयमा प्रयाप्त मात्रामा कर्मचारी हुने हो भने काम गर्न समस्या नहुने र पुँजीगत खर्च गर्न पनि सक्ने बताए ।

बैठकमा मन्त्री यादवले अन्तराष्ट्रिय बजारमा मल अभाव भएका कारण नेपालमा पनि सहजै उपलब्ध हुन नसकेको बताए । अहिले मुल्य बृद्धि भएका कारण ठेकदारले ठेक्का नलिँदा मल ल्याउन समस्या भएको र जिटुजी बाट टेन्डर गरेर मल ल्याउने क्रममा रहेको जानकारी गराए ।

मलखादको समस्या अन्तराष्ट्रिय स्तरमा नै रहेको उनले जानकारी गराए । साथै मन्त्री यादवले अहिले तत्कालै युरियाको मलखादले समस्या हल नहुने पनि जानकारी गराए । मल ल्याउनको लागि धेरै देशमा पत्राचार गरेको भएपनि कुनै देशले पनि मल दिने भनेर पत्रचार नगरेको तर भारतले मल दिने भनेको उनको भनाइ छ ।

बैठकमा कृषि सचिव डा. गोविन्द प्रसाद शर्माले पनि जनशक्ति अभावले गर्दा पुँजीगत खर्च गर्न नसकेको बताए । उनले सामान्य प्रशासनमा कुरा गर्दा पनि विज्ञापन खुलाउन नमानेको बताए । कर्मचारी अभाव हुदा पनि लोकसेवाले खुलाउन नमान्दा काम गर्न समस्या भएको दाबी गरे ।

अहिले काम गर्नको लागि जग्गा प्राप्तिमा समस्या रहेको भन्दै कतै जग्गा कम भएको कारण पनि आयोजना सक्न समस्या भएको बताए । ‘स्रोत सुनिस्चितता लिन पनि ३–४ महिना जाने गरेको छ’ उनले भने ‘यसले पुँजीगत खर्च हुनमा असर गरेको छ ।’ आफ्नो मन्त्रालयले यो वर्ष ६५ देखि ७० प्रतिशत पुँजीगत खर्च गर्ने सचिव शर्माले बताए ।


क्लिकमान्डु