स्रोत नखुलेको ५० लाख नगदसहित पक्राउ परेकी पोखरेललाई थुनामा राखेर अनुसन्धान गरिने



काठमाडौं । स्रोत नखुलेको ५० लाख रुपैयाँसहित पक्राउ परेकी सौर्य एयरलाइन्सकी कर्मचारीलाई थुनामा राखी राजश्व अनुसन्धान विभागले अनुसन्धान गर्ने भएको छ ।

विभागले थुनामा राखी अनुसन्धान गर्ने माग गर्दै आइतबारनै जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ ।

विभागका उपमहानिर्देशक तथा प्रवक्ता टंकप्रसाद पाण्डेले कानून बमोजिम १० लाख रुपैयाँभन्दा माथि नगद बोक्न नपाइने भन्दै ५० लाख रुपैयाँ कुन प्रयोजनका लागि कहाँबाट आएको होबारे अनुसन्धान हुने बताए ।

आयकर ऐनमा ५० हजार रुपैयाँभन्दा बढी भुक्तानी गर्न नपाइने व्यवस्था छ । त्यसैगरी नेपाल राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दाबढी रकमको नगद कारोबार गर्न समेत रोक लगाएको छ ।

काठमाडौं सिनामंगल बस्ने मोरङ विराटनगर महानगरपालिका-४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई आइतबार बिराटनगरबाट सौर्य एयरलाइन्सबाट काठमाडौं आउने क्रममा ५० लाख रुपैयाँ नगदसहित गरिएको थियो ।

बिराटनगरबाट काठमाडौं जान लागेको सौर्य एयरलाइन्सको जहाजमा सोही एयरलाइन्सका बिराटनगर स्टेसन इन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँच समेत नगरी झोला राखेको भन्ने सूचनाको आधारमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय गौचरले जाँच गर्ने क्रममा उक्त झोला फेला पारेको थियो ।

सौर्य एयरलाइन्स काठमाडौंमा एसिसटेन्टको रुपमा कार्यरत पोखरेललाई स्रोत नखुलेको तथा भन्सार उदघोष समेत नगरेको १ हजार दरको ४ हजार ९ सय ५० थान र ५ सय दरको १ सय थान गरी जम्मा ५० लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु