१० देशमा नेपालली बैंकका शाखा खोल्ने सिबिफिनको योजना



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले भिजन २०३० सार्वजनिक गरेको छ । जसमा विभिन्न १० बुँदे रणनीति तय गरेको छ ।

जसमा कम्तीमा १० देशमा नेपाल बैंकका शाखा/सम्पर्क कार्यालय पुर्याउने लक्ष्य लिइएको छ । साथै सन्तुलितरुपमा प्राइभेट क्रेडिट टु जीडीपी रेसियो बढाउने । अहिले व्यापार, उपभोग्य र अन्य कर्जा शीर्षकमा भएका लगानीका तुलनामा उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गर्ने र आर्थिक विकासमा योगदान दिने किसिमको कर्जालाई डोर्याउने लक्ष्य लिइएको छ ।

त्यसैगरी परिसंघले हरेक नेपालको घरदैलोमा बैंकिङ सेवा पुर्याउने लक्ष्य लिइएको छ । परिसंघका अनुसार २०७७ सम्मको तथ्यांक अनुसार अझैपनि करिब ३९ प्रतिशत जनसंख्यामा बैंकिङ पहुँच पुगेको छैन ।

डिजिटल बैंकिङलाई प्रबर्द्धन गरी नगद र चेकलाई न्यूनतम प्रयोगमा ल्याउने, जोखिम व्यवस्थापनका लागि बलियो संरचना बनाउने र निक्षेप र कर्जालाई सन्तुलित र दिगोरुपमा वृद्धि गर्दै लैजाने रणनीति तय गरिएको छ ।

साथै बलियो सूचना प्रविधि संरचनाको विकास गर्ने, प्रोसेस अटोमेसन र पेपरलेस बैंकिङलाई प्रबर्द्धन गर्ने र ग्रीन फाइनान्सिङ र साना तथा मझौला उद्यम कर्जालाई प्राथमिकतामा राखी प्रवाह गर्ने लक्ष्य लिइएको छ ।

त्यसैगरी परिसंघले वित्तीय क्षेत्र विकास रणनीति २०७३–७८ मा बैंक तथा वित्तीय संस्थालाई ‘युनिर्भसल बैंकिङ’तर्फ उन्मुख गराउने भन्ने उल्लेख भएको र सोअनुसार अब विकास बैंक र फाइनान्स कम्पनी नरहने भन्ने समाचार प्रकाशित भएको भन्दै यसले विकास बैंक र फाइनान्स कम्पनीलाई आफ्नो अस्तित्व नरहने भन्ने चिन्ता भएको परिसंघको भनाइ छ । परिसंघले यसका लागि नेपाल सरकार नेपाल राष्ट्र बैंकले यस सम्बनधमा प्रष्ट नीति अबलम्बन गर्नु र धारणा सम्प्रेषण गर्नु उपयुक्त हुने सुझाव समेत दिएको छ ।


क्लिकमान्डु